काठमाडौं । नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमूनामा फेला परेको जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नमूना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ वटामा थप उत्परिवर्तन रुप k417N mutation देखिएको बताउनुभयो । यसलाई AY.1 नाम दिइएको छ ।
उहाँका अनुसार यो नेपालसहित विभिन्न १० देशमा देखिएको छ । मन्त्रालयले गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानका विभिन्न उमेर समूहका व्यक्तिबाट पिसीआर नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले छनोट गरी परीक्षणका लागि भारत पठाएको थियो ।
नेपालमा अहिलेसम्म अल्फा (B.1.1.7) र डेल्टा (B.1.617.2) तथा कप्पा (B.1.617.1) भेरियन्ट पुष्टि भएको छ । डेल्टाको उत्परिवर्तन भेरियन्ट बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर गर्ने मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिनुभयो । उहाँले यसअघि पनि नेपालमा देखिएको यो डेल्टा भेरियन्टको नयाँ रुप मात्र रहेको बताउनुभयो । “यो नयाँ देखिएको भेटियन्ट होइन”, उहाँले भन्नुभयो, “यसअघि पनि देखिएको छ, तर यो अन्यभन्दा बढी सङ्क्रामक रहेको छ ।”
मन्त्रालयले डेल्टा भेरियन्टको नयाँ रुपको सङ्क्रमण रोक्नका लागि सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्ड पालना गर्नका लागि अपिल गरेको छ ।

काठमाडौं । नेपालमा नयाँ प्रजातिको डेल्टा भेरियन्ट नामको कोरोना फेला परेको छ । ९ जना व्यक्तिमा कोभिड १९ को परिवर्तित भेरियन्ट ‘के ४१७ एन म्युटेसन’ भेटिएको प्रमाणित भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिनोमिक पहिचानका लागि जेठ २६ गते भारत पठाइएका ४८ वटा नमूनामध्ये ९ वटामा यो भेरियन्ट पुष्टि भएको हो ।
गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनामध्ये ४७ वटा नमूनामा डेल्टा भेरियन्टको बी.१.६१७.२, एउटा नमूनामा अल्फा भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ ।
डेल्टा भेरियन्ट पुष्टी भएका ४७ नमूनामध्ये ९ वटामा नयाँ प्रकारको एवाई. १ भनिने के १४१७ एन म्युटेसन भेटिएको मन्त्रालयका विज्ञप्तिमा उल्लेख छ । यी भेरियन्टहरु बढी संक्रामक र सबै उमेर समूहमा फैलिने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न तथा स्वास्थ्यप्रति जिम्मेवार हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
नेपालमा हालसम्म अल्फा, डेल्टा र कप्पा भेरियन्ट देखिएका छन् । सुरुमा एल्फा बेलायत तथा डेल्टा र कप्पा भारतमा भेटिएका भेरियन्ट हुन् ।


























