काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो बनाउँदै फेरि एक साता थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ ५ बजे बसेको संयुक्त बैठकले असार १४ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले दिएको जानकारी अनुसार थपिएको निषेधाज्ञामा निजी सवारीसाधन जोर–विजोर प्रणालीमा चलाउन पाइनेछ भने बारअनुसार पसल सञ्चालन गर्न दिइने छ ।
निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोरविजोर प्रणालीमा मात्र चल्नेछन् । तर अन्य सार्वजनिक सवारीसाधन भने चलाउन पाइने छैन ।
जनजीवनलाई सहज बनाउँदै लैजानुपर्ने र संक्रमण दर पनि घट्दै गएकाले यो निर्णय गरिएको प्रजिअ पराजुलीले बताउनुभयो । उहाँले कोरोनाको जोखिम नसकिएकाले नागरिक आफैंले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताउनुभयो ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार आर्थिक गतिविधिलाई सहज बनाउने गरी प्रशासनले निर्णय गरेको छ । जसअनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान विक्री गर्ने पसल सञ्चालन हुनेछन् ।
त्यस्तै, अटोमोबाइल्स र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछन् । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा र जुत्ता पसल खोल्न दिने निर्णय भएको अधिकारीले बताउनुभयो । यही दिनमा फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङका पसल पनि खुल्नेछन् ।
बारका आधारमा खुल्ने पसललाई बिहान ११ देखि ४ बजेसम्म समय तोकिएको छ । खाद्यान्न, फलफूल र तरकारी खुल्ने समय पनि यथावत् राखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सीसीएमसी निर्देशक समितिको बैठकले बुधबार ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो । त्यसमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै आर्थिक, सामाजिक गतिविधिलाई अघि बढाउने भनिएको थियो ।
यस सम्बन्धी प्रावधानको खाका सीसीएमसीले गृहसहितका मन्त्रालयहरुलाई दिएको थियो । मन्त्रालय र विज्ञसँगको छलफलपछि सीसीएमसीले बनाएको ‘स्मार्ट लकडाउन’कै मोडलअनुसार प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।
उपत्यका प्रशासनले कोभिड–१९ भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो ।
हेर्नुहोस् निषेधाज्ञाको आदेशपत्र