काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनाभित्र फरक मोडालिटीबाट गर्ने तयारी गरेको छ । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेकाले केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने बोर्डले बताएको छ । यसका साथै सो परीक्षा गत वर्षभन्दा फरक मोडालिटीबाट गर्न बोर्डले गृहकार्य थालेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष प्रा चन्द्रमणि पौडेलका अनुसार असारभर पर्ख र हेरकै अवस्थामा बोर्ड रहेको र त्यसपछि मात्र परीक्षाको तयारीका बारेमा छलफल थालिने भएको छ । भदौसम्म परीक्षा हुने सम्भावना देखिएको र त्यो गत वर्षभन्दा फरक मोडालिटीमा हुने उहाँले बताउनुभयो । कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा भएकाले बिना परीक्षा विद्यार्थीको प्रमाणीकरण गर्न समस्या हुने भएकाले केही महिना कुरेरै भए पनि पुरानै तरिकाबाट परीक्षा लिने बोर्डको तयारी छ ।
हालसम्म कक्षा १२ को अन्तिम परीक्षा सञ्चालनको सबै अधिकार बोर्डमा नै निहित छ । विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि बाटोसमेत खुल्ने भएकाले कक्षा १२ को परीक्षा लिनैपर्ने अवस्था रहेको छ । बोर्डले गत जेठ २६ गतेबाट कक्षा १२ को परीक्षा लिने कार्यतालिका सार्वजनिक गरे पनि कोरोनाका कारण स्थगित गरेको थियो । यसपटक तीन महिनाको हाराहारीमा मात्रै ती विद्यार्थीको समय विलम्ब हुने देखिएको छ । हाल कुनै पनि विश्वविद्यालयमा स्नातक तहको भर्ना खुला नगरिकाले कक्षा १२ का विद्यार्थीको धेरै समय खेर नगएको उहाँको भनाइ छ । विश्वविद्यालयले गत फागुनमा मात्रै स्नातक तहमा नयाँ विद्यार्थी भर्ना गरेका हुन् । त्यसैले गर्दा कक्षा १२ को परीक्षा फरक ढंगले गरिने भएको छ । गत वर्ष ४० अङ्कको मात्रै लिखित परीक्षा लिएर कक्षा ११ को परीक्षालाई समेत आधार मानेर कक्षा १२ को अन्तिम नतिजा प्रकाशन भएको थियो । आन्तरिक मूल्याङ्कनलाई समेत अन्तिम परीक्षामा आधार मानिएको थियो । बोर्डले यसपटक कक्षा १२ को परीक्षाका लागि फरक खालको मोडालिटी बनाउने भएको छ ।
बोर्डका अध्यक्ष पौडेलले यसपटक कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीको कक्षा ११ को परीक्षा बोर्डले नभई विद्यालयले लिएकाले गत वर्षकै जस्तो मोडालिटीमा परीक्षा हुने अवस्था नरहेको स्पष्ट गर्नुभयो । यसपटक परीक्षाका लागि भिन्न खालको मोडालिटी बनाउने बोर्डको गृहकार्य छ । यता कक्षा ११ मा अध्ययनरत देशभरका विद्यार्थीको अन्तिम मूल्याङ्कन असारभित्र गरिसक्नुपर्ने बोर्डले जनाएको छ । असारभित्र विद्यार्थीको मूल्याङ्कन सकेर साउनदेखि ती विद्यार्थीको कक्षा १२ को पठनपाठन सञ्चालन गर्न सकिने बोर्डले बताएको छ । बोर्डले गत वर्ष नै कक्षा ११ को परीक्षाको कार्यविधि बनाएर मूल्याङ्कन गर्न सक्ने अधिकार विद्यालयलाई दिइसकेको छ । कार्यविधिले असारभित्र विद्यार्थीको अन्तिम वार्षिक मूल्याङ्कन सक्ने समयसीमा समेत उल्लेख गरेको छ । यस विषयमा कार्यविधिले स्पष्ट गरिसकेकाले यसपटक थप केही भन्नुपर्ने अवस्था नरहेको बोर्डका अध्यक्ष पौडेलले स्पष्ट गर्नुभयो ।

























