काठमाडौं । गएको २४ घन्टामा नेपालमा २ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ४८४ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या छ लाख १५ हजार ९८४ पुगेको छ । एन्टीजेन विधिबाट हालसम्म २४ हजार ५६ को रिपोर्ट पोजेटिभ आएको छ । हाल नेपालमा ६१ ह्जार ७२५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार १४१ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख ४५ हजार ६६२ जना सङ्क्रमित कोरोनामुक्त भएका हुन् । कोरोनाबाट निको हुने दर ८८.६ प्रतिशत पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा ३९ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म आठ हजार ५९७ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।
























