काठमाडौँ । मुलुकमा मनसुन सक्रिय भएसँगै देशका अधिकांश भूभागमा वर्षा जारी रहेको छ । मनसुनी वायुको प्रभावले आज देशका तीन प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ । आज दिउँसो र राति सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक-दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार र शनिबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
‘देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षा हुने सम्भावना रहेकाले उक्त प्रदेशहरुका पहाडी भू–भागमा पहिरोको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुहुन सबैमा अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।




















