काठमाडौं । प्रधानमन्त्री एवं कोभिड-१९ व्यवस्थापन निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार राति अबेरसम्म बसेको समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ ।
अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको हो ।
बुधबार राति अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेशिया जस्ता देशहरुमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय पनि गरेको छ । उल्लेखित देशहरुबाट सातामा दुई हजारजना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुनेछन् ।
बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ । बैठकले सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइने समेत निर्णय गरेको छ । यसैगरी गैरआवासीय नेपालीहरुबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई संक्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताउनुभएको थियो । कोभिड नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य तत्व खोप नै भएको उल्लेख गर्दै उहाँले त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको र आगामी साउनदेखि लगाउन थालिने बताउनुभयो । त्यसबाहेक अन्य देशसँग पहल भइरहेकोले खोपको अभाव क्रमशः हल हुँदै जाने बताउनुभयो ।




















