काठमाडौं । मुलुकका अधिकांक ठाउँमा मंगलबारदेखि निरन्तर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट १३ जिल्ला प्रभावित भएको छ । बाढीपहिरोबाट ७ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन् ।
गृह मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार बाढीपहिरोका कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्यूठान, कास्की, पर्वत, म्याग्दी, डोटीलगायत देशका विभिन्न जिल्ला प्रभावित भएका छन् । बुधबार साँझसम्म बाढीपहिरोबाट विभिन्न जिल्लामा ८९ घर पूर्ण र २६ घर आंशिक रुपमा क्षति भएको मन्त्रालयले बताएको छ । त्यसमा पनि सबैभन्दा बढी मनाङ र सिन्धुपाल्चोक जिल्ला प्रभावित बनेका छन् ।
गृह मन्त्रालयका अनुसार बाढीका कारण सिन्धुपाल्चोकमा ३ जना, कास्की, पाल्पा, बाजुरा र डोटीमा १–१ जना गरी जम्मा ७ जनाको मृत्यु भएको छ । त्यस्तै बाजुरा, गोरखा, प्यूठान, अर्घखाँचीमा १–१ जना, जाजरकोटमा ७ जना र सिन्धुपाल्चोकमा १७ जना गरी २७ जना बेपत्ता छन् ।
त्यसैगरी सिन्धुपाल्चोकमा ६ जना र स्याङ्जामा पहिरोमा परी १ जना, डोटीमा २ जना र जुम्लामा २ जना समेत जम्मा ११ जना घाइते भएका छन् । सिन्धुपाल्चोकको बाढीमा परी घाइते भएका ६ जनाको हेलिकप्टरबाट उद्धार गरी ललितपुरको बिएण्डबि अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै बाढीपहिरो प्रभावित जिल्ला सिन्धुपाल्चोकमा ४६ र दाङमा ४ जनाको सकुशल उद्धार भएको छ । मनसुन शुरु भएलगत्तै ठूलो क्षति भएपछि गृह मन्त्रालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक बसी बाढीपहिरोबाट वेपत्ताको खोजी, उद्धार र राहतमा सबै संयन्त्रलाई परिचालन हुन निर्देशन दिएको छ ।




















