काठमाडौं । ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने मूल मान्यता स्थापित आज सातौं चुरे दिवस देशका विभिन्न भागमा मनाइएको छ । नेपालको अन्न भण्डार मानिने तराई तथा बसोवास, खेतीपाती र जलभण्डारका हिसावले महत्वपूर्ण मानिने पहाडी भू–भागलाई जोड्ने मेरुदण्डको रूपमा चुरे शिवालिक पर्वत शृङ्खला रहेको छ । चुरे क्षेत्र पहाडका लागि दरिलो खम्बा हो भने तराईका लागि यसले सुरक्षाकवचको रूपमा काम गर्दै आएको छ ।
वनजङ्गल, वनस्पति, दुर्लभ वन्यजन्तुको आश्रयस्थल समेत रहेको चुरे क्षेत्रमा पछिल्ला केही वर्षमा खुला चरिचरन, अतिक्रमण तथा अधिक दोहनको समस्या देखापरेपछि सरकारले विसं २०७१ साल असार २ गते चुरे क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गर्दै ‘राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति’ गठन गरेको थियो । सो समितिमार्फत हाल संरक्षणका कामहरू सञ्चालन हुँदै आएका छन् ।
चुरे दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना वक्तव्य दिँदै संसारकै कान्छो पर्वत चुरेकोे भू–बनोट निकै कमसल, कमजोर भएकाले थोरै चलाउँदा पनि धेरै नोक्सानी हुने कुरालाई दृष्टिगत गर्दै यहाँको प्राकृतिक स्रोतको संरक्षण, दीगो व्यवस्थापनमा समितिले आफ्ना कामहरू अघि बढाइरहेको बताउनु भएको छ ।
हाल सरकारले समितिमार्फत चुरे तथा भावरको गल्छी, पहिरो नियन्त्रण मात्र होइन, यसले तराई मधेशको भूगोलसम्म बाढी नियन्त्रण गर्दै उर्वराभूमिको उर्वराशक्तिलाई कायम राख्नका लागि प्रभावकारी रूपमा कामहरू सञ्चालन गर्दै आएको बताउनु भएको छ ।
हरियाली प्रवद्र्धन, भू–क्षय, पहिरो तथा गल्छी नियन्त्रण, तटबन्ध निर्माण, बाढीको रोकथाम रहरेक वर्ष आइलाग्ने प्राकृतिक विपत्तिबाट हुने धनजनको क्षतिलाई न्यून गर्दैे दीर्घकालीन समृद्धिको सपनालाई परिपूर्ण गर्न सरकारले चुरेसंरक्षणको बीसवर्षे गुरुयोजना समेत स्वीकृत गरि सोही अनुरुप चुरेक्षेत्रदेखि भावर, तराई मधेशसम्मका सरोकारवाला सबै निकाय र समुदायको सहभागितामा संरक्षणका बिभिन्न कामहरू प्रभावकारी रूपमा सञ्चालन गरिरहेको उहाँले उल्लेख गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले भन्नु भएको छ “चुरे सुरक्षित हुँदा मुलुकका झण्डै आधा भन्दा बढी नागरिकको जीवन सुरक्षित हुन्छ र त्यसको सकारात्मक असर अन्य क्षेत्रमा पनि पर्दछ । यसले नेपाललाई आत्मनिर्भर बनाउन सक्ने तराईको अन्नभण्डार सुरक्षित राख्न मद्दत पु¥याउँछ । चुरे दिवसका अवसरमा चुरेको संरक्षण, सम्बद्र्धनका लागि सबैले आआफ्नो ठाउँबाट रचनात्मक, सिर्जनात्मक र सकारात्मक भूमिका खेलौँ भन्ने आह्वान गर्न चाहन्छु ।”
यसैबीच चुरे दिवसका अवसरमा सशस्त्र प्रहरी वल नेपाल ४३ रिजर्भ गण वनभेडा कैलाली परिसरमा वृक्षा रोपण गरिएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सदस्य भेषराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको आयोजना राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीले गरेको हो ।
आँप, लिच्ची, अम्बा, कागती, रुखकटहर, गुलमोहर, पारिजात, बोटल पामलगायतका फलफूल तथा वनस्पतिका चार सय वटा विरुवा रोपिएको इकाई प्रमुख भरत भट्टले बताउनु भएको छ । कोरोना महामारीका बीच दुरी कायम गरेर वृक्षारोपण कार्यक्रम गरिएको पनि बताउनु भयो ।
एसपीद्वय जनक पुरी र प्रदीप सिंह कार्की, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीका कर्मचारी, स्थानीय व्यक्ति, प्रहरीलगायतको उपस्थिति भएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले चुरे संरक्षण राष्ट्रिय गौरवको आयोजना भएको बताउनु भयो । चुरे नेपाल र नेपालीका लागि अतिआवश्यक भएको बताउँदै यसले हरित नेपाल निर्माणमा सहयोग पुर्याउने बताउनु भयो ।
पछिल्ला दिनहरुमा सरकारले चुरे दोहन गर्ने नीति बनायो भन्दै भइरहेको विरोधप्रति संकेत गर्दै सदस्य आचार्यले भन्नुभयो “चुरे दोहनको कुनै सम्भावना छैन, हुँदैन र यदि कसैले यसमा प्रयास मात्र गरेपनि समितिले सफल हुन दिँदैन । सरकारका नीति, कार्यक्रम तथा योजनाहरु चुरे संरक्षणमा केन्द्रित छन् । यदि कहि कतै चुरे दोहन भएको प्रमाण भेटिएमा कानून अनुसार कारवाही गछौं । यस कुरामा सबै ढुक्क भए हुन्छ ।”
त्यस्तै सदस्य आचार्यले आजको वृक्षा रोपण कोरोनाबाट मृत्यु भएका जनता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीलगायतको सम्झनामा भएको पनि बताउनु भयो ।
आचार्यले सम्भव भएसम्म प्रत्येक घरमा एउटा भएपनि बोटविरुवा रोप्नुपर्ने बताउनु भएको छ । कम्तिमा पनि आफ्नो वच्चा जन्मिदा होस् वा आफ्नो जन्मदिनमा वृक्षा रोपेमा त्यो बच्चासँगै हुर्किने र त्यसले प्राकृतिक सौन्दर्य, स्वच्छ वातावरण, स्वच्छ हावा दिने बताउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चुरे जोगाउनु पर्छ भन्नेमा प्रतिवद्ध रहेको पाइएको बताउनु हुँदै आचार्यले आफूसँगको अनौपचारीक कुराकानीमा पनि प्रधानमन्त्रीले चुरे क्षेत्रको संरक्षण गर्न र हरित नेपाल निर्माणमा लागि पर्न निर्देशन दिनु भएको बताउनु भयो ।
बजेट वक्तव्य र सरकारको नीति तथा कार्यक्रमा १ करोड ५० लाख वृक्षा रोपण गर्ने, ‘भूमिगत वाटर रिचार्ज’ र जीवजन्तु र चराचुरुङ्गीलाई खानेपानी उपलव्ध गराउने हेतुले जंगल क्षेत्रमा २०० पोखरी निर्माण गर्ने कार्यक्रम ल्याएको स्मरण गर्नु भएको छ ।