सिन्धुपाल्चोक । मंगलबार साँझ सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोमा परी सातजनाको मृत्यु भएको छ । केही घाइतेहरुलाई काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेल, प्रहरी र जनप्रतिनिधिले सातजनाको मृत्यु भएको जानकारी दिनुभएको छ ।
मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पु-याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।
बाढी–पहिरोबाट विस्थापित सिन्धुपाल्चोकको मेलम्चीका करिब पाँच सय जना विस्थापित भएका छन् । तीन सयजनालाई नेपाली सेनाको क्याम्पमा र २ सयजनालाई इन्द्रेश्वर माविमा राखिएको छ । उनीहरुलाई सोही स्थानमै बुधबार बिहानको खाना खुवाइएको छ । मानिसहरुले आफ्ना घरका सामान क्याम्पमा सारिरहेका छन् । विस्थापित भएकाहरु सुरक्षित स्थानको खोजी गर्दै अग्ला डाँडामा गएर बसेका देखिन्छन् ।
मेलम्ची नगरपालिकाको ११ नम्बर वडामा एक सय घरधुरी डुबानमा परेको स्थानीय जनप्रतिनिधिले जानकारी दिनुभयो । बाढीले कृषि भवन, आयुर्वेद भवन, कभर्ड हल, सिटी पार्क लगायतका भवन क्षतिग्रस्त भएका छन् । दुईवटा पक्की र दुई झोलुङ्गे गरी चार वटा पुल बगेका छन् । अहिले पनि पानी परिरहेकाले स्थानीय त्रसित छन् । खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । अर्को एउटा निजी हेलिकप्टर पनि सिन्धुपाल्चोक क्षेत्रमा खटिएको छ । स्थलगत रुपमा पनि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसहितको टोली परिचालन गरिएको छ ।