राजनीति सधैँ तरल हुन्छ । त्यो तरलताभित्र सरलता र जटिलता दुवै हावी हुनसक्छ । गण्डकी प्रदेशमा त्यही देखियो । पाँच वर्ष सरकारलाई खबरदारी गर्ने भन्दै विपक्षी दलको भूमिका निर्वाह गरिरहेको नेपाली काँग्रेस अकस्मात् सरकार हाँक्ने ठाउँमा पुग्यो । यसक्रमका घटनाक्रम नाटकीय र रोचक देखिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीले जनताबाट प्राप्त गरेको लोभलाग्दो बहुमत आफ्नै आन्तरिक किचलोका कारण पार्टी नै फुटको संघारमा पुग्दै गर्दा देशको राजनीतिमा प्रदेशदेखि केन्द्रसम्म सत्ताको व्यापक परिवर्तन देखिँदैछ । पार्टीको आन्तरिक केन्द्रीय कलहको प्रभाव गण्डकी प्रदेशमा पनि प-यो । अन्ततः त्यसले गण्डकी प्रदेशको सत्ता परिवर्तनसम्म हुन पुग्यो ।
देशलाई अफ्ठ्यारो परेका बेला दिशानिर्देश गर्ने जिम्मा सदैव काँग्रेसको हातमा आउने गर्छ । गण्डकी प्रदेशमा यस्तै भएको छ अहिले । एकजना पुराना शिक्षकलाई शान्त र सुन्दर गण्डकी प्रदेशलाई दिशानिर्देश गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी आइपरेको छ ।
आफू शिक्षाको पृष्ठभूमिमा उभिएको हुनाले एकजना भूतपूर्व शिक्षकले गण्डकी प्रदेशमा काँग्रेसको तर्फबाट पहिलो मुख्यमन्त्री बनेर खाता खोल्दा असाध्यै खुशी लागेको छ । २०७४ सालमा नवलपरासी १ ‘क’ बाट प्रदेशसभामा निर्वाचित सांसद, पुराना अनुभवी शिक्षक, वकिल कृष्णचन्द्र पोख्रेलबाट काँग्रेसमा नयाँ मुख्यमन्त्रीको यात्रा शुरु भएको छ । यो अत्यन्तै शुभ छ । नयाँ मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेल एवम् नेपाली काँग्रेसलाई बधाई तथा हार्दिक शुभकामना ।
मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेलको पृष्ठभूमि गर्विलो छ । ७१ वर्षीय नेता पोख्रेलका पिता गोवर्द्धन पोख्रेल प्रजातन्त्र सेनानी एवम् काँग्रेसका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । राजनीतिक पृष्ठभूमिमा हुर्केका नेता कृष्णचन्द्रले २०२८ सालमा नेपाली काँग्रेसको जिल्ला सदस्य हुँदै आजसम्मको यात्रा तय गर्नुभयो । पोख्रेल ६ पटकभन्दा बढी आन्दोलनको क्रममा जेल पनि पर्नुभयो ।
पोख्रेलले लामो समयसम्म काभ्रेको फलाटे, तनहुँको दमौली र तनहुँको थर्पुका हाईस्कुलमा भूगोल, इतिहासलगायतका विषयहरु अध्यापन गराउनुभयो । राजनीतिक आस्थाका कारण विभिन्न कठिनाइ तथा यातनाहरु झेल्नुपरेपछि २०३६ सालमा उहाँले अध्यापन छोड्नुप-यो । आज तिनै अब्बल शिक्षक काँग्रेसका तर्फबाट गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्री बन्नुभयो ।
यो प्रसंगमा केही कुराहरु जोड्न मन लागेर यो लेख तयार पार्ने कोसिस गरेको हुँ । केही समयअघि मेरो अनन्य सहकर्मी मित्र राजेन्द्र बुढाथोकीले मैले विद्यालय शिक्षणबाट बिदा लिएपछि एक लेखमार्फत् मलाई धन्यवाद दिनुभयो । मेरा केही उपलब्धिहरु केलाउनुभयो । राजनीति र शिक्षालाई जोडेर केही मतहरु पनि राख्नुभयो । राजेन्द्र सरलाई पुनः धन्यवाद दिन चाहन्छु ।
शिक्षा र राजनीतिलाई हामीले गहिरो गरी बुझ्न सक्नुपर्छ । विश्वका हरेक देशलाई समृद्ध बनाउने प्रमुख दुई अस्त्र शिक्षा र राजनीति नै हुन् । राजनीतिले शिक्षालाई हस्तक्षेप ग-यो भन्ने गुनासो हामी सुन्ने गर्छौँ तर सत्यचाहिँ राजनीतिले शिक्षासँग पवित्र नाता जोड्न खोजेको हो । यदाकदा नियत खराब भएका मानिसहरुले केही बिगारेका हुन सक्छन् । यस्ता मानिसहरुले राजनीति र शिक्षाक्षेत्र दुवैलाई घीनलाग्दो बनाएका छन् । तथापि राजनीतिले शिक्षालाई हस्तक्षेप गर्दैन । बरु मलजल गर्छ ।
एउटा ज्वलन्त उदाहरण भारतको नयाँ दिल्लीमा देख्न सकिन्छ । त्यहाँ अरविन्द केजरीवाल मुख्यमन्त्री बनेपछि शिक्षा क्षेत्रमा आमूल परिवर्तन भएको छ । आज भारतमा दिल्लीको शिक्षामा राजनीतिले ल्याएको परिवर्तनको चर्चा हुने गर्दछ । तसर्थ नियत ठिक भयो भने राजनीतिले शिक्षालाई र शिक्षाले राजनीतिलाई उकास्छ । शिक्षा र राजनीतिबिच व्यावसायिक सम्बन्ध हुनु जरुरी छ । शिक्षकहरु, शिक्षाविद्हरु, राजनीतिक कार्यकर्ताहरु र नेताहरुबिच सुमधुर सम्बन्ध हुनु जरुरी छ । सबैले आफ्नो धर्म पूरा गर्दै सकेको योगदान दिनुपर्छ । त्यसो भयो भने सबैको जय हुन्छ ।
जन्मजात काँग्रेस रहेका कृष्णचन्द कुनै बेला असल तथा अब्बल शिक्षकका रुपमा सर्वत्र परिचित हुनुहुन्थ्यो । शिक्षक रहँदा उहाँले आफ्नो धर्म पूर्णरुपमा पूरा गर्नुभयो । राजनीतिमा पनि उहाँ निष्ठावान् तथा चरित्रवान् नेताका रुपमा परिचित हुनुहुन्छ । यस्ता मानिसहरु ढिलोचाँडो ठिक ठाउँमा पुगी छाड्छन् । आज त्यो प्रमाणित पनि भएको छ । अत्यन्तै कठिन समयमा उहाँ मुख्यमन्त्री बन्नुभयो । अगाडिको यात्रा कठिन छ । तथापि एकजना शिक्षक धैर्यवान तथा नैतिकवान हुने भएकाले आफ्नो छविको बलमा भए पनि उहाँले यो कठिन यात्रालाई पूरा गर्दै गण्डकी प्रदेशलाई समृद्ध बनाउने यात्रामा अघि बढ्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।
शिक्षा र राजनीतिलाई हामीले गहिरो गरी बुझ्न सक्नुपर्छ । विश्वका हरेक देशलाई समृद्ध बनाउने प्रमुख दुई अस्त्र शिक्षा र राजनीति नै हुन् । राजनीतिले शिक्षालाई हस्तक्षेप ग-यो भन्ने गुनासो हामी सुन्ने गर्छौँ तर सत्यचाहिँ राजनीतिले शिक्षासँग पवित्र नाता जोड्न खोजेको हो । यदाकदा नियत खराब भएका मानिसहरुले केही बिगारेका हुन सक्छन् । यस्ता मानिसहरुले राजनीति र शिक्षाक्षेत्र दुवैलाई घीनलाग्दो बनाएका छन् ।
त्यसकारण शिक्षा र राजनीतिलाई जोड्दै अघि बढ्नुपर्छ । शिक्षा क्षेत्रका साथीहरुलाई पनि राजनीतिमा उभिने ठाउँ दिनुपर्छ । जसरी एउटा अब्बल शिक्षकले कमजोर तथा बदमास विद्यार्थीहरुलाई पनि तह लगाएर पढाउन सक्छ त्यसरी नै उसले स्थानीय स्तरदेखि नै राजनीतिलाई पनि संस्कारयुक्त बनाउन सक्छ । उसको हातमा जुनसुकै तहको राजनीतिको नेतृत्व परे पनि उसले सही ढंगले दिशानिर्देश गर्न सक्छ । म त भन्छु अब शिक्षा क्षेत्रका मानिसहरु पनि व्यापक रुपले राजनीतिमा प्रवेश गर्नुपर्छ । असल नियतले राजनीतिमा हस्तक्षेप गर्नुपर्छ । औँठा छापहरु मन्त्री भए, नेता भए भनेर गुनासो गर्नुभन्दा पढेलेखेकाहरु आफैँ अघि बढ्नुपर्छ । शिक्षित जमातहरु अघि नबढ्ने भने पक्कै अनपढहरुले राजनीति हाँक्नै पर्ने हुन्छ । यस्तो भयो भने दोष कसैलाई दिन मिल्दैन ।
अतः कृष्णचन्द्र पोख्रेल सर मुख्यमन्त्री बन्दै गर्दा हामी जस्ता शिक्षा क्षेत्रका मानिसहरुलाई खुशीको अनुभूति भएको छ । यसरी अब्बल शिक्षकहरुले शिक्षा क्षेत्र र राजनीति दुवैलाई क्रमशः दिशानिर्देश गर्दै अघि बढेको हेर्न पाइयोस् । यही नै कामना ।
(लेखक आचार्य कपन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा शिक्षाविद् हुनुहुन्छ ।)