काठमाडौं । काठमाडौँ उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थप भएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता थप गर्ने निर्णय भएको हो ।
कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । यद्यपि संक्रमण दर कम हुँदै गएकाले निषेधाज्ञालाई केही खुकुलो पारिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् ।
त्यसैगरी शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ ।
यस्तै अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्न दिइने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको थियो । कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने निर्णय भएको पराजुलीले बताउनुभयो । उहाँका अनुसार विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ ।
यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि अनौपचारिक छलफल भएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयमा कुराकानी भएन । उपत्यकामा १६ वैशाखदेखि लगाइएको निषेधाज्ञा हालसम्म पनि जारी छ ।





























