काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाका ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा पुनः लगाइने भएको छ । जेठ २५ गतेबाट काठमाडौं उपत्यकासहित देशभर शुरु भएको खोप अभियान काठमाडौंमा स्थगित भएको थियो । दुई दिन खोप अभियान सञ्चालन भएपछि जेठ २७ गते काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै खोप अभियान रोकिएको जानकारी दिएको थियो ।
उक्त रोकिएको खोप अभियान काठमाडौंमा जेठ ३१ र असार १ गते लगाइने भएको छ । आइतबार सूचना जारी गर्दै महानगरपालिकाले ६०–६१ वर्ष उमेर समूहका नागरिक भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्ति, कोरोनाका विरामीको उपचार जाँच र प्रत्यक्ष उपचारमा संलग्न चिकित्साकर्मी प्यारा मेडिक्स नरसिङका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन अनुरोध गरेको छ । यसभन्दा अघि उक्त खोप जेठ २८ र २९ गते लगाइने कार्यक्रम थियो । तर, विशेष कारण देखाउँदै खोप अभियान स्थगित गरिएको थियो । खोप अभियान बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने कामनपाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमनका विभागीय प्रमुख हरिबहादुर कुँवरले बताउनुभयो । खोप वीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगञ्ज, विरेन्द्र सैनिक अस्पताल छाउनी र निजामती कर्मचारी अस्पताल नयाँ वानेश्वरमा लगाइने जनाइएको छ ।

























