काठमाडौं । वैशाख १६ गतेदेखि जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञाको अवधि १५ दिनसम्म बढाउने तयारी गरिएको छ ।
यसबारे ठोस निर्णय गर्न आज तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्ने भएको छ ।
सो बैठकले निषेधाज्ञाको अवधिबारे अन्तिम निर्णय गर्ने भए पनि १ सातादेखि १५ दिनसम्म निषेधाज्ञा थप गर्ने कि भन्ने अनौपचारिक छलफल भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभएको छ । उहाँले निषेधाज्ञाको नियम भने केही खुकुलो पार्ने तयारी भइरहेको बताउनुभयो ।
सीडीओहरुको संयुक्त बैठक आज दिउँसो २ बजेपछि बस्ने तयारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार अबको निषेधाज्ञा विकास निर्माणका कामलाई थप प्राथमिकता दिने, बिहान ९ बजेसम्म खोल्न दिइएका खाद्यान्न तथा तरकारी पसल सञ्चालन अवधि अलि बढाउने तथा अन्य पसल पनि समय तोकेर खोल्न दिनेलगायत विषयमा छलफल भइरहेको छ ।
यसैगरी स्वास्थ्य सुरक्षा मापदण्ड कडा रूपमा पालना गरी निजी सवारीसाधन जोरबिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिने कि भन्नेमा पनि छलफल भएको छ । यसअघि पटकपटक थप गरिएको निषेधाज्ञाको पछिल्लो अवधि सोमबार (जेठ ३१ गते) राति १२ बजे सकिँदै छ । तर कोरोना महामारी अझै नियन्त्रण नभएकाले पुनः थप गर्नुपर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।

























