काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनको कोभ्याक्स कार्यक्रमअन्तर्गतको नेपालले प्राप्त गर्ने कोरोनाविरुद्धको खोप आगामी हप्तासम्म आइपुग्ने भएको छ ।
नेपालको खोप वार्ता समितिलाई अक्सफोर्ड तथा एस्ट्राजेनेकाद्वारा विकसित खोपको केही डोज उपलब्ध गराउने जानकारी कोभ्याक्सले दिएको हो ।
यही जुनभित्र कोभ्याक्सको खोप नेपाललाई प्राप्त हुने सम्भावना रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पौडेलले जानकारी गराउनुभएको छ । उहाँका अनुसार कोभ्याक्सले जुन महिनाको मध्यसम्ममा खोप उपलब्ध गराउन सकिने जनाएको छ । उहाँका अनुसार संसारभरि नै खोपको अभाव रहेकाले अर्को हप्तासम्म कोभ्याक्सको खोप नेपाललाई उपलब्ध गराउन सक्नेछ तर कति मात्रा खोप दिने भन्ने चाहिँ कम्पनीले खुलाएको छैन ।
कोभ्याक्स खोप नेपाल आउनेबित्तिकै कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई उच्च प्राथमिकतामा राखेर खोप दिने उहाँले जानकारी दिनुभयो । । “मलाई लाग्छ उनीहरुले हामीलाई एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गरेको खोप नै उपलब्ध गराउनेछन्,” उहाँले भन्नुभयो । कोभिसिल्ड खोपसँग अस्ट्राजेनेका तथा अक्सफोर्ड उत्पादन गरेको कोभ्याक्स खोपको फर्मुला मिल्ने भएकाले पहिलो मात्रा कोभिसिल्ड लगाएकालाई सो खोप दिन सकिने उहाँले बताउनुभयो ।
सेरम इन्स्टिच्युट अफ इन्डियाले नेपाललाई उपलब्ध गराउने १० लाख डोज उपलब्ध नगराएपछि खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा दिन सकिएको छैन । यस्तै अमेरिकाले पनि नेपाललाई खोप उपलब्ध गराउने आश्वासन गराए पनि आधिकारिक निर्णय आउन बाँकी रहेकाले खोपको आयातमा ढिलाइ भएको छ ।

























