लमजुङ । नेपाली सेना, श्रीजंग गणले बेँसीशहर नगरपालिका वडा नं. १ स्थित उदिपुरमा रहेको बगाले गाउँमा व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्र सञ्चालनमा ल्याएको छ । विसं २०७५ वैशाखदेखि सिटिइभिटीबाट मान्यता लिएर तालिम सञ्चालन आएको हो । वहालवाला, अवकाश प्राप्त सैनिक र उनीहरुका छोराछोरीलाई अध्ययन गराउँदै आइरहेको गणपति प्रमुख सेनानी जयराम थापाले बताउनुभयो । उहाँले भन्नुभयो,“ हामीले हालसम्म ८० जनालाई अध्ययन पूरा गराइसकेको र हाल ८० जना नै अध्ययनरत् छन् ।” तालिम सञ्चालन गर्नुको मुख्य उद्देश्य सैनिक अवकाश पश्चात् स्वदेशमै बसेर कृषि पेशामा केही गरोस् भन्ने रहेको उहाँको भनाइ छ ।
आगामी भदौ महिनादेखि तालिम केन्द्रलाई रुपान्तरण गरेर ‘नेपाली सेना कृषि विज्ञान अध्ययन संस्थान‘लाई अघि बढाउँदै बिएस्सीएजी अध्ययन गराउन लागिएको गणले जनाएको छ । संस्थानमा सो अध्ययन गर्न सेनाको छोराछोरी, सर्वसाधरणका छोराछोरीलाई अध्ययन गराउने भएको छ । यस विषयका लागि १३० जनाले अध्ययन गर्न सक्नेछन् ।
यहाँ यस विषयमा अध्ययन गराउन भौतिक पूर्वाधार निर्माण भइरहेको छ । यस आर्थिक वर्षको असारसम्म प्रशासनिक भवन, १४ जना शिक्षक आवास, प्रयोगशाला, लाइबेरी, छात्रावास लगायतका संरचना निर्माण सम्पन्न गर्नुपर्ने भएपनि कोभिडका कारण केही महिना लम्बिन पुगेको बताइएको छ । निर्माणको जिम्मा वुद्ध कन्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले लिएको सेनाले जनाएको छ । सेनाका अनुसार आगामी साउन महिनासम्म यस संरचना निर्माण सम्पन्न गर्ने भएको छ । हालसम्म ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । सेनाको सैनिक कल्याणकारी कोषको १३ करोड लगाउनीमा यहाँ सो भौतिक संरचना निर्माण, कृषि, जनावर पालनको सबै संरचना तथा कृषि र जनावरहरु राखिने प्रक्रिया अनुरुप अघि बढिरहेको प्रमुख सेनानी थापाले बताउनुभयो । उहाँका अनुसार चार सय रोपनी क्षेत्रफल रहेको र सोमध्ये २० प्रतिशतमा भौतिक पूर्वाधार, ५० प्रतिशतमा कृषि र ३० प्रतिशत क्षेत्रफलमा पशुपालन हुने भएको छ ।
हाल यहाँ बंगुर १५, गाइ १०, कुखुरा १००० वटा, बाख्रा १५ वटा राखिएको छ । त्यस्तै, कागति, कफि, चियापती लगायत विभिन्न प्रजातिका विरुवा ५ हजार ७०० रोपिएको छ । उहाँले भन्नुभयो, “हाल १० रोपनी क्षेत्रफलमा तरकारी खेती गरिएको छ । सेनाले यसरी तालिम केन्द्र सञ्चालन गरेको पहिलो पटक हो । आगामी दिनमा सरकारले ७ वटै प्रदेशमा समेत सञ्चालन गर्ने तयारीमा रहेको छ ।”
हालै निर्माणाधीन तालिम केन्द्रको भवनको अवस्था, विएप्सीएजी अध्ययनको सम्भावना के कस्तो छ, क्षेत्रफल के कति पर्याप्त छ भनेर निरीक्षण गर्नका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रधान सेनापति पूर्णचन्द्र थापा, त्रिभूवन विश्वविद्यायका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया लगायतका टोलिले निरीक्षण गर्नुभएको थियो । सो निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले सबै पूर्वाधार कृषिमा राम्रो रहेको र अध्ययनका लागि समेत राम्रो हुने बताउनुभयो । साथै उहाँले विपद क्षेत्र लगायत विभिन्न क्षेत्रमामा राम्रो गरे झै यस कृषिमा पनि राम्रो गर्दै नमूना बनाउन उहाँले अनुरोध गर्नुभयो । त्यस्तै, प्रधान सेनापति थापाले भन्नुभयो, “सैनिकले यस संस्था सञ्चालन गरेर स्वरोजगार बनाउका लागि समाज र मुलुकलाई सहयोग पुग्ने अपेक्षाले अघि बढेको छ । यसले युवा विदेश जानबाट रोक्न ठुलो भूमिका निर्वाह गर्ने छ ।” (रासस)