काठमाडौं । सरकारले प्रकाशन गरेको नेपालको पछिल्ला संशोधित नक्सा नराखी पुस्तक प्रकाशित गर्ने व्यापारीलाई तुरुन्त कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठ आदेश दिनुभएको छ । केही निजी पुस्तक प्रकाशकहरुले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिनुभएको हो । यसका साथै उहाँले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक यथाशीघ्र जफत गर्न निर्देशनसमेत दिनुभयो ।
पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको आज सम्पन्न ८८ औ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको छ । उहाँले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक तथा वितरकहरुलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुनअनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको हो ।
प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको हो ।
मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिनुभयो । उहाँले यस विषयमा तत्काल अनुगमन गरी गल्ती गर्ने प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले सरकारले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटि भएको औंल्याउनुहुँदै गल्ती गर्नेहरुमाथि कडा कारबाही हुनुपर्ने बताउनुभयो ।
सो कार्यक्रमा अधिकांश बिक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी बिक्री गरेको पाठ्यक्रम विकास केन्द्रले जानकारी गराएको थियो । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अघि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो–‘पुरानो नक्सा राखेर पुस्तक छापाई गरेको जानकारी पाएका छौँ, तीमध्ये केही प्रकाशकलाई स्पष्टीकरण सोधेर कारबाही प्रकृया अघि बढाएका छौँ ।’
अधिकांश पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जिकेलगायतका पुस्तकमा पुरानै नक्सा राखेर छपाई गरेको भेटिएको छ ।



















