धनगढी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले प्रदेश सरकारबाट फिर्ता नहुने आफ्ना मन्त्रीलाई पार्टीले कारबाही गर्ने बताउनुभएको छ ।
पार्टीले सरकारबाट निक्लने एक महिनाअगाडि गरेको निर्णय नमान्ने मन्त्रीलाई कारबाही गरिने उहाँले बताउनुभएको हो । एमालेको प्रदेश कमिटी बैठकले गत चैत १५ गते सरकारबाट बाहिरिने निर्णय गरेको दुई महिनासम्म पनि सरकारबाट नबाहिरिएकालाई पार्टीले कारबाही गर्ने थापाले जनाउनुभएको हो ।
“हाम्रो पार्टीको प्रदेश कमिटीको बैठकले सरकारबाट बाहिर आउने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ”, थापाले भन्नुभयो, “माओवादीको सरकारबाट बाहिर नआउने मन्त्रीलाई पार्टीले कारबाही गर्छ ।”
माओवादी केन्द्रले नेतृत्व गरेको एमाले र नेकपा (माओवादी केन्द्र)को संयुक्त सरकारमा अहिले एमालेका तीन मन्त्री रहेका छन् । एमालेका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्ण सुवेदी र उद्योग, वन तथा वातावरणमन्त्रीमा माया भट्ट हुनुहुन्छ । मुख्यमन्त्री त्रिलोचन भट्टले आन्तरिक मामिला तथा कानूनमन्त्री शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी दिनुभएको छ ।
निवर्तमान सांसद रावलको पहलमा स्वास्थ्य सामग्री प्रदान
कैलाली क्षेत्र नं २ का निवर्तमान सङ्घीय सांसद झपटबहादुर रावलको पहलमा चार पालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । लम्की चुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका, मोहन्याल गाउँपालिका र टीकापुर नगरपालिकालाई अक्सिजन कन्सर्नटे«टर, अक्सिजन सिलिन्डर, पिपिई सेट, गम बुट, स्यानिटाइजरलगायत सामग्री वितरण गरिएको हो ।
लम्की चुहालाई पिपिई सेट सय, अक्सिजन कन्सर्नटे«टर तीन, अक्सिजन सिलिण्डर नौ, स्यानिटाइजर छ थान, गम बुट २० जोडा, चस्मा ४० थान, सर्किजल मास्क तीन हजार ६०० थान, त्यसैगरी टीकापुरलाई अक्सिजन कन्सर्नटे«टर पाँच, स्यानिटाइजर आठ थान तथा मास्क दुई पेटी वितरण गरिएको छ ।
त्यस्तै बर्दगोरियालाई पिपिई सेट ५०, अक्सिजन कन्सर्नटे«टर एक, अक्सिजन सिलिण्डर दुई, स्यानिटाइजर एक थान वितरण गरिएको स्वास्थ्य सामग्री वितरणमा समन्वय गर्नुभएका नेत्र भण्डारीले बताउनुभयो । त्यस्तै लम्की चुहा अस्पतालका चिकित्सक प्रकाश तिमिल्सेनाले प्राप्त भएका स्वास्थ्य सामग्रीले बिरामीको प्रभावकारी उपचारमा सहयोग हुने भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
– (रासस)