लुम्बिनी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ (१) अन्तर्गत आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
पोखरेलले आइतवार बिहान मात्र मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
लुम्बिनी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ । नवनियुक्त मुख्यमन्त्री पोखरेलले केही बेरमा पद तथा गाेपनियताकाे सपथ लिनुहुने जनाइएकाे छ ।
तीन वर्षअघि धारा १६८ (२) अनुसार मुख्यमन्त्री बन्नुभएका पोखरेलले आइतबार बिहानमात्र राजीनामा दिनुभएको थियो । राजीनामा दिएलगतै उहाँले बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।