काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिनुभएको छ ।
आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि बहुमत आधारमा सरकार बनाउन भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको मुख्यमन्त्री पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।
‘मुख्यमन्त्रीले संविधानको १६८ (२) अनुसार गठन भएको यो सरकार अब १६८ (१) अनुसार गठन गर्न राजीनामा दिनुभएको हो,’ प्रेस सल्लाहकार केसीले बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलको पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो ।
उहाँविरुद्ध दर्ता अविश्वास प्रस्ताव टुंगो लगाउन भन्दै आह्वान गरिएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आजै सुरु हुने कार्यतालिका रहेको छ । त्यसअघि नै उहाँले पदबाट राजीनामा दिनुभएको हो ।