बाँके । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा आज मध्यरातिदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले नेपालगञ्ज उपमहानगर क्षेत्रभरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म अत्यावश्यकबाहेक सबै प्रकारका सेवा निषेध गर्ने आदेश जारी भएको जानकारी दिनु भएको छ ।
अत्यावश्यक काम बाहेकको हिँड्डुलमा समेत निषेध गरिएको विज्ञप्तीमा भनिएको छ।
पछिल्ला दिन कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेका कारण अत्यावश्यक बाहेकका सेवा बन्द गर्नुपरेको विज्ञप्तीमा जनाइएको छ ।
विज्ञप्तिमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम सेवा पूर्व निर्धारित परीक्षाहरु, हवाई सेवा र सार्वजनिक निर्माण कार्य सञ्चालन गर्न पाइने जनाइएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्रमा पछिल्ला दिन ७३५ जना सक्रिय संक्रमित पुगेका छन् ।