घामको तातो एकातिर, आगोको राप अर्कातिर । शरीर पसिनाले भिजेको छ, हत्केलामा चिम्टा समाउँदा ठेला परेका छन् । कोइला र खरानीले मुहारमा दाग देखिन्छ । लमही नगरपालिका–५ निवासी प्रेमा वली यस्तै दैनिकीका साथ पाँच वर्षदेखि लमही बसपार्कको छेउमा मकै पोलेर बेच्दै आउनुभएको छ । साठी वर्षीया वलीले आफ्नै पाखुरीले कमाएको पैसाबाट जीवन चलाउनुभएको छ । श्रीमान्ले दोस्रो बिहे गरेर अलग्गै बस्न थालेदेखि आफ्ना दुःखका दिन शुरु भएको उहाँले बताउनुभयो ।
दाङको देउखुरी क्षेत्रमा बाह्रै महिना मकैखेती हुन्छ । उहाँको मकै व्यापार पनि बाहै्र महिना हुन्छ । तातो घाममा आगोको रापमा पसिनाका धारा पुछ्दै मकै पोलेको कमाइबाट छोरालाई १२ कक्षासम्म पढाएको उहाँ बताउनुहुन्छ । “मेरो सहारा भनेको त्यही एउटा छोरो हो । दुःखसुख गरेर छोराले पढेको छ, उसले राम्रो काम पाए त दुई चार रुपैयाँ कमाउँथ्यो तर भने जस्तो काम पाइँदैन”, उहाँले भन्नुभयो, “गरिबको त सहारा पनि कोही हुँदो रहेनछ ।”
उहाँले बिहान किसानले बेच्न ल्याएको मकै खरीद गरेर बेलुकासम्म बेच्ने गर्नुहुन्छ । दिनमा १०० वटा जति मकै बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । पोलेको एउटा मकै रु २५ मा बिक्री हुन्छ भने काँचो मकै बेच्दा रु २० मा बिक्री हुन्छ ।
घोराही उपमहानगरपालिका–१८ निवासी भीमीदेवी मल्ल सडकको किनारामा मकै पोलेर दैनिकी चलाउनुहुन्छ । उहाँ तातो घाम होस्, चाहे पानीको झरी किन नहोस्, आगोमा मकै पोली बटुवालाई कुरेर बसेको भेटिनुहुन्छ । उमेर ७१ वर्ष भयो तर पनि दु:खले उहाँलाई छाडेको छैन । घोराहीको व्यस्त सडक माध्यमिक विद्यालय रझेना जाने बाटोको छेउमा पीपलको चौतारीमुनि मकै पोलेर आफ्नो गुजरा चलाउनुभएको छ । आम्दानीको स्रोत नभएपछि मकै पोलेर भएको दुई चार रुपैयाँले खर्च चलाएको उहाँ बताउनुहुन्छ । बिहानको खाना खाएर मकै खोज्न गाउँतिर जाने र दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म मकै पोल्ने गरेको उहाँले बताउनुभयो ।
घर खर्च र बिरामीले थला परेका श्रीमान्को उपचार खर्च मकै पोलेर आएको पैसाबाट चलेको उहाँले बताउनुभयो । उहाँका श्रीमान् दानबहादुर मल्ल दुई वर्ष अगाडिदेखि उच्च रक्तचापका कारण बिरामी हुनुहुन्छ । हातगोडा चल्दैनन् । काम गर्न सक्नुहुन्न । दिनरात विछ्यौनामा ढलिरहनुहुन्छ । श्रीमान्को औषधि खर्च र खाने खर्च सकिएपछि काममा हिँडेको भिमी बताउनुहुन्छ । उहाँका दुई छोरा र एक छोरी छन् ।
गत वर्ष कोरोनाको मध्य समयबाट जीविका चलाउन मकै पोलर बेच्न थालेको यस वर्ष पनि सोही व्यापार चलिरहेको छ । कोरनाको डर पनि लागेन, भोकले मर्नुभन्दा रोगले मर्नु जाति भनेर मकै पोलेर बेच्न थालेको मल्ल बताउनुहुन्छ । “दिनमा ३०/४० घोगा मकै पोलेर बेच्ने गरेको छु, एउटा मकै १५ देखि २० रुपैयाँमा बिक्री हुन्छ । राम्रोसँग मकै चपाउने आफ्ना दाँत छैनन्, अरुलाई खुवाएर आफ्नो पेट पाल्न सजिलो भएको छ”, उहाँले भन्नुभयो ।
“अलि रात प-यो भने आँखाले देख्दैन, झिसमिसे साँझमै घरमा पुग्नुपर्छ । दिनभरि आगोमा मकै पोल्दा साँझ आँखा पिरो भएर धमिलो हुन्छ । दिनभरि घरमा एक्लै छोडेको श्रीमान्को स्याहारमा जुट्न्पर्छ”, उहाँले भन्नुभयो, “उता श्रीमान् भोकाएर मेरै बाटो कुरेर बसेका हुन्छन् । कहिले खाना बनाउन जाँगर लाग्छ र पकाउँछु, जाँगर नलागेको दिनमा दिउँसो बचेको एक, दुई घोगा मकै खाएर रात कटाउने गर्छु । बिरामीले मकै खान सक्नुहुन्न, दूध र पाउरोटी खान दिएर सुत्छौँ ।”
घर खर्च र बिरामीले थला परेका श्रीमानको उपचार खर्च मकै पोलेर आएको पैसाबाट चलेको उहाँले बताउनुभयो । उहाँका श्रीमान् दानबहादुर मल्ल दुई वर्ष अगाडिदेखि उच्च रक्तचापका कारण बिरामी हुनुहुन्छ । हातगोडा चल्दैनन् । काम गर्न सक्नुहुन्न । दिनरात विछ्यौनामा ढलिरहनुहुन्छ । श्रीमान्को औषधि खर्च र खाने खर्च सकिएपछि काममा हिँडेको भिमी बताउनुहुन्छ । उहाँका दुई छोरा र एक छोरी छन् ।
लमही नगरपालिका–६ की ३५ वर्षीय रुपा भण्डारीले लमही भालुवाङ सडक छेउमा मकै पोल्न थालेको तीन वर्ष भयो । लमहीमा मकै सधैँ सहजैरुपमा पाइन्छ । पूर्वपश्चिम सडकमा गाडी बिसाउने ठाउँमा मकै बेच्ने गरेको देखेर यात्रु आफैँ गाडी रोकेर मकै किन्न आउने गरेको उहाँले बताउनुभयो । घरमा कमाउने कोही छैन, साँझ/बिहान खानाको समस्या हुने गरेको छ”, रुपाले भन्नुभयो, “दिनभरि मकै बेचेर आएको पैसाले घरमा खानेकुरा लगेर गुजारा चलाउने गरेकी छु ।”
लमही बजारमा मकैको राम्रो व्यापार हुने गरेको र मकै बेचेको पैसाबाट चार जनाको परिवार पालिएको उहाँले बताउनुभयो । उहाँले दैनिक रु ४०० देखि ७०० सम्म आम्दानी हुने गरेको बताउनुभयो । बिहान ९ बजेदेखि मकैको व्यापार शुरु हुन्छ, गर्मीमा तातो घाम, वर्षाको झरीको कुनै प्रवाह नगरी मकै बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । अन्य काम गर्नुभन्दा मकै पोलेर बेच्ने काम सजिलो लागेर यता लागेको उहाँ बताउनुहुन्छ ।
घोराही, तुलसीपुर, लमहीका मुख्य सडकमा तातो घाममा मकै पोलेर धेरै महिलाले सङ्घर्ष गरेर जीवन निर्वाह गरिरहेका छन् । यस क्षेत्रमा अन्य आम्दानीको बाटो नभएपछि मकैको सहाराले जीवन चलाउनेको सङ्ख्या धेरै छ ।
पोलेको मकै खाँदा स्वादिलो मात्र होइन स्वास्थ्यवद्र्धक तथा पोषणयुक्त हुन्छ । यसमा प्रोटिन तथा कार्बोहाइडे«ट जस्ता पौष्टिक तत्व पाइने चिकित्सकको भनाइ छ । मकैमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन क्रियालाई सन्तुलित बनाउने गरेको प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेण्ट डा मीनचन्द्र अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “मकैले कोलेस्टोरको मात्रालाई नियन्त्रण गर्नुका साथै मुटुरोगको सम्भावनासमेत कम गर्छ । पोलेको मकै खाँदा हड्डी बलियो हुन्छ, स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।”
लमही नगरपालिका उपप्रमुख देवका बेलवासेले सडक छेउमा व्यापार गर्नेलाई व्यवस्थित गर्ने कामको थालनी गरिएको बताउनुभयो । सबैले व्यापार गरेर खानलाई सजिलो होस् भनेर सुरक्षित तरिकाको बस्ने ठाउँको बन्दोबस्ती नगरपालिकाले गरेको उहाँ बताउनुहुन्छ । “गरिखाने वर्गलाई लक्षित गरेर व्यापार गर्ने ठाउँको व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “लमहीमा महिला पुरुष दुवै जनाले विभिन्न व्यापार गर्नुभएको छ, गरिखानलाई नगरपालिकाले व्यवस्थित ठाउँको प्रबन्ध गरेका छौँ ।” (रासस)