काठमाडौं । सरकारले घरमै बसेर नापी कार्यालयहरुको काम मेरो कित्ताबाट गर्न सकिने व्यवस्था सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नापी कार्यालयहरुबाट प्रदान गरिने सेवा अनलाइनबाटै गर्न सकिने प्रणालीको शुभारम्भ गरेका गर्नुभएको हो । सरकारले ‘नेपाल ल्याण्ड इन्फरमेसन सिस्टम’मार्फत् नक्सा प्रिन्ट, फिल्डबुक प्रिन्टलगायतको सेवा घरमै बसेर उपलब्ध गराउने व्यवस्था गर्न लागेको हो ।
नापी कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु प्रविधिमैत्री, झन्झटरहित, चुस्त दुरुस्त, छिटो छरितो एवं प्रभावकारी बनाउनका लागि यो कार्यक्रम सुरु गरिएको सरकारले बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी र प्रविधि ल्याउने कुरामा सरकारको ध्यान भएको भन्दै मेरो कित्ताबाट नेपालमा जति कित्ता रहेका छन्, सबै घरमा बसेर हेर्न सकिने बताउनुभयो । ‘कार्यालय उही हुन्, काम गर्ने तरिकामा परिवर्तन गरेका हौँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘लेस फेस, लेस पेपर र क्यासलेस अर्थात् डिजिटाइज्ड नेपाल सुरु गरेका छौँ ।’
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण शिवमाया तुम्बाहाङ्फेले मालपोत तथा नापी कार्यालयबाट हुने ढिलासुस्ती कम गर्न मेरो कित्ता कार्यक्रम सुरु गरिएको बताउनुभयो । डिजिटल नेपालको अवधारणाअनुसार मालपोत तथा नापी कार्यालयमा पेपरलेस कार्यक्रमको रुपमा सुरु भएको उहाँको भनाइ छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले घरजग्गा कारोबारमा लाइन लाग्नुपर्ने बाध्यता हटाउन अनलाइन सेवा सुचारु गरिएको जानकारी दिनुभयो ।
‘अहिलेको बसाइसराइले जो जहाँ छ, त्यहाँबाटै मालपोत तथा नापी कार्यालयबाट सेवा उपलब्ध गराउन आवश्यक छ’, सचिव पाण्डेले भन्नुभयो, ‘घरजग्गा कारोबार आफैँ अनलाइनबाट गर्न सकिन्छ।’
उहाँले डिजिटल भेरिफिकेसनको लागि कहिलेकाहीँ उपस्थित हुनुपर्ला नभए सबै अनलाइनबाटै काम हुने बताउनुभयो । देशभर १२६ नापी कार्यालयमध्ये १८ कार्यालय अझै अनलाइन प्रणालीमा आउनसकेका छैनन् ।
यो वर्षभित्र सबै कार्यालय अनलाइन प्रणालीमा आउने र कारोबार गर्न सकिने सरकारले बताएको छ । पाण्डेले जग्गासम्बन्धी सम्पूर्ण इतिहास अनलाइनबाट थाहा पाउने व्यवस्था गरी मन्त्रालयले काम थालेको बताउनुभयो । संस्थागत कारोबार बैंक तथा स्थानीय तहले समेत अनलाइनबाटै कारोबार गर्नसक्ने उहाँले जानकारी दिनुभयो । नापी विभागका महानिर्देशक प्रकाश जोशीले काठमाडौं उपत्यकाका ३ ठाउँ कलंकी, डिल्लीबजार र भक्तपुरमा आजबाटै लागू भएको जानकारी दिनुभयो ।