नेपालगञ्ज । बाँके जिल्लामा हाल आएर कोरोना संक्रमित थपिने क्रम तिव्र देखिएको छ । आइतबार ४० जना संक्रमित थपिएका थिए भने आज पनि ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
भेरी अस्पतालमा ७८ जनाको पिसिआर परिक्षण गर्दा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।
उहाँले बाँकेमा चैत महिनाको शुरुबाटै संक्रमितको संख्या बढ्दै गएपनि हाल आएर तीब्र गतिमा कोरोना फैलिरहेको पाईएको बताउनुभयो । फोकल पर्सन ओलीका अनुसार चैत महिनामा मात्र हालसम्म १९६ जना संक्रमित थपिएका छन् ।
संक्रमित भएकाहरुमध्ये भेरी अस्पतालको कोभिड वार्डमा ५४ जनाको उपचार भैरहेको अस्पतालले जनाएको छ । ती मध्ये २४ जनाको अवस्था सिकिस्त रहकेो जनाउँदै अस्पतालका प्रमुख डा प्रकाश थापाले ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताउनुभयो ।
अन्य २० जनाको पनि आइसियुमा राखेर उपचार भैरहेको डा। थापाले बताउनुभयो । संक्रमण बढ्ने क्रम बढ्दै गएपछि स्वास्थ्य सम्बन्धि मापदण्डको पालना गर्नु पर्नेमा सबैतिर जोड दिईरहेको उहाँले बताउनुभयो । भारतमा अतिनै तिव्र गतिमा संक्रमण फैलिंदै गएकोले सीमानामा विशेष किसिमको व्यवस्था गर्नुपर्ने माग अधिकांश जिल्लावासीको छ ।