काठमाडौं । सरकारले कोरोना भाइसर सङ्क्रमणको दोस्रो जोखिमबाट आफ्नो नागरिकलाई बचाउन कार्ययोजना छिट्टै सार्वजनिक गर्ने भएको छ ।
शुक्रबार अपराह्न मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बचाउने कार्ययोजना छिट्टै सार्वजनिक गरिने बताउनुभएको हो ।
मन्त्री गुरुङले कस्तो आचारसंहिता, मापदण्ड अपनाउने भन्ने योजना चाँडै सार्वजनिक गर्ने बताउनुभयो । छिमेकी मुलुक भारतलगायतका देशमा कोरोना सङ्क्रमण बढिरहेकोले त्यसको नियन्त्रणमा नेपालमा फेरि सरकारले लकडाउन गर्ने चर्चा चलेको भन्दै सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले कोभिडबाट जनतालाई कसरी बचाउने, कसरी सुरक्षित राख्ने भन्नेमा सरकारले सोच राखिरहेको बताउनुभयो ।
‘लकडाउन वा अन्य सुरक्षित विधि, मापदण्ड, आचारसंहितालगायत विषयमा सबैसँग छलफल गरेर टुंगो लगाउछौं,’ उहाँले भन्नुभयो । पछिल्लो २४ घण्टामा नेपालमा २८८ कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ । हालसम्म २ लाख ७३ हजार ७ सय ३५ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ । हालसम्म नेपालमा २३ लाख ६ हजार २ सय ४४ पीसीआर परीक्षण भएको छ ।