बलेवा । होली पूर्णिमाका अवसरमा लागेको मेलामा दोहोरो झडपपछि दुई युवाको मृत्युका विषयमा अनुसन्धान गर्न प्रहरी प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ ।
बाग्लुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको घटनाका विषयमा अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थलतर्फ लागेको हो ।
जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार घटना भएलगत्तै मगरको कमाण्डमा ११ जनाको टोली बुर्तिबाङ प्रस्थान गरेको हो । आइतबार दिउँसो दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको थियो । हिजो राति नै गलकोटबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेको थियो । झडपपछि निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र सोही ठाउँका ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको छ ।
मृतकको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्यचौकीमा हिजो राति नै ल्याइएको हवारीले बताउनुभयो । उनीहरुको भिरबाट ५०० मिटर तल खसेको अवस्थामा शव भेटिएको थियो । अन्य केही भएको भन्दै बेपत्ताको खोजी भइरहेको छ । मृतक कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्यसमेत हुनुहुन्थ्यो । स्थानीयवासीका अनुसार दिउँसो मदिरा खाएर होली मनाउन जम्मा भएका युवाहरूको बीचमा भनाभन हुँदा झडप भएको थियो ।
सो झडपमा मृत्यु भएका दुई व्यक्ति आफ्ना नेता तथा कार्यकर्ता भएको नेपाली कांग्रेसले जानकारी दिएको छ । नेपाली कांग्रेसको बागलुङ जिल्ला कार्यसमितिका सभापति दीपेन्द्रबहादुर थापाले सोमबार बिहान विज्ञप्ति जारी गरी झडपमा मारिएका प्रकाश कुँवर आफ्ना जिल्ला सदस्य तथा दीपक परियार सक्रिय कार्यकर्ता भएको जानकारी दिएका हुन्।
सुनियोजित रूपमा उनीहरूको हत्या गरिएको भन्दै कांग्रेसले दोषीविरुद्ध कडा कारबाही गर्न उनले माग गरेका छन् । साथै घटनामा ज्ञानु दमाईलगायत घाइते भएकाले उनीहरूको औषधि उपचारको व्यवस्था गर्न बाग्लुङ कांग्रेसले सरकारसँग माग गरेको छ ।