उत्तरकोरियाले केही दिनको अन्तरालमा दुई पटक क्षेप्यास्त्र परीक्षण गरेर फेरि छिमेकी मुलुक र पश्चिमा जगतलाई झस्काएको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धहरुको स्वाभाविक रुपमा उल्लङ्घन गर्दै उत्तर कोरियाले विकास गरेका यी क्षेप्यास्त्र नियन्त्रित र निकै उन्नत रहेको भनाइ सार्वजनिक भएको छ । एक वर्षको अवधिमा गरिएको यो पहिलो प्रक्षेपक (ब्यालिस्टिक) क्षेप्यास्त्र परीक्षण हो । अझ संयुक्त राज्य अमेरिकामा राष्ट्रपति जो बाइडेनले सपथ लिएपछि “हामी यहाँ छौं” को शैलीमा उत्तरकोरियाले एकपछि अर्को क्षेप्यास्त्र परीक्षण गरेर आफूलाई नजरअन्दाज नगर्न साङ्केतिक चेतावनी पनि दिएको छ । बाइडेन प्रशासनले तत्कालै चेतावनी पनि दिएको छ, हामी कोरियाली द्वीप क्षेत्रमा उत्तरकोरियाले तनावको वातावरण सिर्जना गर्नेक्रम नरोके त्यसको उचित सम्बोधन गरिने छ ।
उत्तरकोरिया मामिलालाई एक मुख्य कार्यसूची बनाएर बाइडेन प्रशासनका दुई प्रमुख व्यक्तिहरु अर्थात् विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले गत साता जापान र दक्षिणकोरियाको संयुक्त भ्रमण गरिसक्नु भएको छ । यो उहाँहरुको पहिलो विदेश भ्रमण पनि हो । चीनको बढ्दो सामरिक प्रभाव र उत्तरकोरिया मामिलालाई सम्बोधन गर्न अमेरिकाका परम्परागत गठबन्धनलाई अझ बलियो बनाउनेतर्फ यो भ्रमण केन्द्रित रहेको थियो । यहीबीच दक्षिण कोरिया र अमेरिकी सेनाले सीमित किसिमको सिमुलेसन विधिबाट संयुक्त सैन्य अभ्यास पनि गरेका छन् भने दक्षिण कोरियामा अमेरिकाले गर्ने सैन्य खर्चको विषयमा पनि सहमति जुटेको छ । अर्थात् बाइडेन प्रशासनले उत्तरकोरिया मामिलामा वार्ता वा थप दबाब के गर्ने भन्ने स्पष्ट सन्देश नदिएसँगै उत्तरकोरियाले थप क्षेप्यास्त्र परीक्षण र आधुनिक हातहतियार देखाउन थालेको छ । यद्यपी न्यूयोर्क टाइम्सका पत्रकार चो साङ–हुनले अमेरिकाले आणविक अस्त्र कार्यक्रम त्याग्न उत्तर कोरियामाथि प्रतिबन्ध र संवादका दुबै प्रयत्नलाई निरन्तरता दिन सक्ने बताएका छन् ।
उत्तरकोरियाका हतियार विकास प्रमुख रि प्योङ–चोलले शनिबार “संयुक्तराज्य अमेरिकाले आफ्नो मुलुकमाथि सम्भावित परिणामको बेवास्ता गर्दै मूर्खतापूर्ण टिप्पणी गरिरहे त्यसको परिणाम भिन्न हुने चेतावनी” दिनु भएको छ । उत्तर कोरियाली अधिकारीबाट आएको यो चेतावनी नयाँ र नौलो भने होइन । दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको पूर्वसन्ध्यामा उत्तर कोरियाली नेता किम जङ–अनकी बहिनी किम यो–जोङले आणविक अस्त्रको विषयमा “दुर्गन्ध नफैल्याउन” अमेरिकालाई चेतावनी दिनु भएको थियो ।
चेतावनीले केही भएन
उत्तरकोरिया र संयुक्त राज्य अमेरिका एवं दक्षिण कोरियाबीच भएका धाकधम्की, प्रतिबन्ध र एक्ल्याउने जस्ता वर्षौंदेखिका कुनै पनि नीतिहरु सफल भएका देखिन्नन् । बरु, देशभित्र उत्पन्न आर्थिक, भोकमरि, बेरोजगारी समेतका अनेक चुनौतीबीच उत्तरकोरियाले नेता किम जङ–अनको नेतृत्वमा अझ बढी शक्तिशाली, आधुनिक र समुन्नत क्षेप्यास्त्र प्रणाली तिब्र गतिमा विकास र विस्तार गरिरहेको छ । अन्तर महादेशीय क्षेप्यास्त्र प्रणाली विकास गरेर सफल परीक्षण गरेको दाबी गरेलगत्तै यसबाट संयुक्तराज्य अमेरिका र छिमेकी मुलुकहरु खासगरी दक्षिणकोरिया र जापानमा ठूलै तनावको वातावरण सिर्जना गरेको छ । यी क्षेप्यास्त्रले आणविक हातहतियार बोक्न सक्ने र निश्चित विन्दुमा अचूक निशाना लगाउन सक्ने उत्तरको दाबी छ ।
न्यूयोर्क टाइम्स अखबारका अनुसार, उत्तरकोरियाले सन् २००६ देखि २०१७ को बीचका झण्डै ११ वर्षको अवधिमा छ पटक आणविक परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यीमध्ये पछिल्ला चार वटा परीक्षण नेता किम जङ–अनकै शासनकालमा भएका छन् । सन् २०१७ को सेप्टेम्बरमा अन्तिम पटक आणविक परीक्षण गरिएको र यो सर्वाधिक शक्तिशाली रहेको अनुमान गरिएको थियो । वैज्ञानिक अनुसन्धानमा यस पटकको परीक्षणमा ५० देखि ३०० किलोटनको बिस्फोटक क्षमता थियो । अर्थात् १०० किलोटन बिस्फोटकको क्षमता हिरोशिमामा सन् १९४५ मा खसालिएको आणविक बमभन्दा छ गुणा बढी शक्तिशाली मानिन्छ ।
देशभित्र उत्पन्न आर्थिक, भोकमरि, बेरोजगारी समेतका अनेक चुनौतीबीच उत्तरकोरियाले नेता किम जङ–अनको नेतृत्वमा अझ बढी शक्तिशाली, आधुनिक र समुन्नत क्षेप्यास्त्र प्रणाली तिब्र गतिमा विकास र विस्तार गरिरहेको छ । अन्तर महादेशीय क्षेप्यास्त्र प्रणाली विकास गरेर सफल परीक्षण गरेको दाबी गरेलगत्तै यसबाट संयुक्तराज्य अमेरिका र छिमेकी मुलुकहरु खासगरी दक्षिणकोरिया र जापानमा ठूलै तनावको वातावरण सिर्जना गरेको छ ।
आम्र्स कन्ट्रोल एसोसिएसनका अनुसार, सन् २०२० जनवरीसम्ममा उत्तर कोरियासँग ३० देखि ४० वटा आणविक “वारहेड” थिए र आफ्ना आणविक केन्द्रबाट वर्षमा छ वा सात वटा बम निर्माण गर्न सक्ने क्षमता थियो । तर आणविक हातहतियारमा मात्र केन्द्रित भएको विश्व जगतले उत्तरकोरियासँग रासायनिक र जैविक हतियार बनाउन आवश्यक पर्ने एजेन्टको ठूलो भण्डार गरिसकेको कुरालाई बेवास्ता गरिरहेका छन् ।
उत्तरकोरियाले आणविक, रासायनिक र जैविक हतियारहरु विकास र भण्डार मात्र गरिरहेको छैन । यसले लामो दूरीसम्म निशाना लगाउन सक्ने क्षेप्यास्त्रहरु विकास गरेर आफ्नो क्षमता देखाइरहेको छ । सन् २०१७ मा उत्तरकोरियाले गरेको एउटा परीक्षणले विश्वलाई नै सोचमग्न बनाएको थियो । त्यस वर्ष परीक्षण गरिएको मध्यम क्षमताको ब्यालिस्टिक क्षेप्यास्त्र जापानको आकाशमा उडेको थियो भने यसले अमेरिकाको सामरिक महत्वको स्थान गुआमलाई सहजै लक्षित गर्न सक्ने बताइएको थियो । त्यसै वर्ष उत्तरले ह्वासाङ शृंखलाका अन्तर महादेशीय क्षेप्यास्त्रहरुको परीक्षण गरेको थियो । उत्तर कोरियाली नेता किमले आफूहरुले अब संयुक्तराज्य अमेरिकासम्म आणविक हतियार प्रहार गर्न सक्ने क्षमता विकास गरेको दाबी गर्नु भएको थियो ।
तर सन् २०१७ देखि एकाएक उत्तरकोरियाली नेता किमले लामो दूरीका क्षेप्यास्त्र परीक्षण रोकेर तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्तामा बस्नुभयो । दुई नेताबीच सिंगापुर र भियतनाममा वार्ता भए पनि ठोस प्रगति हुन सकेन । उत्तर कोरियाले भित्रभित्रै नयाँ, आधुनिक र शक्तिशाली क्षेप्यास्त्र र अस्त्रहरु निर्माण गरेको अमेरिकी आरोप थियो । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार, अमेरिकी राष्ट्रपति बाइडेनले शपथको तयारी गरिरहेकै अवस्थामा गत जनवरीमा किमले आणविक हतियार निर्माणको विस्तृत योजना बनाएको घोषणा गर्नु भएको थियो जसमा “बहु वारहेड” आणविक क्षेप्यास्त्र, “हाइपरसोनिक” क्षेप्यास्त्र, जमिन र पनडुब्बीबाट प्रहार गर्नसक्ने अन्तर महादेशीय क्षेप्यास्त्र र अतिआधुनिक आणविक अस्त्र समावेश थिए ।
जनवरीमै आयोजित पार्टी कंग्रेसको बैठकमा नेता किमले कुटनीतिक प्रयासलाई हतियार कार्यक्रमले कहिल्यै बाधा नगर्ने बताउनु भएको थियो, तर यसका लागि उहाँको भनाईमा यस्तो कुटनीतिक प्रयास “सफल हुने प्रत्याभूति” जरुरी हुन्छ । केसिएनएका अनुसार, नेता किमले अमेरिकी प्रशासनले आफूहरुलाई चित्तबुझ्दो प्रस्ताव अघि नसारे वार्ता र संवादमा आफूहरु सहभागी नहुने बताउनु भएको थियो । विज्ञहरुका अनुसार, पछिल्ला परीक्षणहरुले किमको त्यही प्रतिबद्धतालाई प्रतिबिम्बित गरेका छन् । सियोलस्थित उत्तर कोरियाली अध्ययन प्रतिष्ठानका प्राध्यापक किम डोङ–युब उत्तर कोरियाले बाइडेन प्रशासनसमक्ष आफ्ना तर्फबाट शुरुमै कुनै प्रस्ताव वा कुनै कार्यक्रम रोक्नेजस्ता योजना अघि बढाउने सम्भावना नदेखिएको बताउनुहुन्छ । हो, उत्तर कोरियाली मामिलामा उत्पन्न गतिरोधको समाधान वार्ता बाहेक अर्को देखिन्न, तर त्यसको पूर्वशर्तका रुपमा आफूमाथि लागेको आर्थिक प्रतिबन्ध फुकुवा गर्ने उत्तर कोरियाली आग्रहलाई सम्बोधन गर्न सकिए गतिरोध अन्त्यमा केही सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । उत्तरकोरियालाई विश्वबाट एक्ल्याउने वा आर्थिक प्रतिबन्धहरुको जालोमा पारिराख्नेजस्ता पुराना शैली आजको परिवर्तित विश्वमा असफल भइसकेको अवस्थामा एक पटक उत्तरकोरियालाई पनि शंकाको लाभ दिनु नै बुद्धिमानी हुनेछ । (रासस)