काठमाडौँ । होली अर्थात् फागुपूर्णिमा पर्व शुरु गर्नुअघि पशुपति र वसन्तपुर क्षेत्रका सात स्थानमा लिङ्गो गाड्ने काम (चिरोत्थान) सम्पन्न भएको छ ।
गुह्येश्वरी जङ्गलमा फाल्गुन शुक्ल अष्टमीका दिन बिहान मयलको हाँगो काटी गुह्येश्वरी, गोरखनाथ र पशुपतिमा चढाएर ती स्थानमा पनि लिङ्गो गाडिने परम्परा रहेको युवा हिन्दू महासङ्घ वसन्तपुरका अध्यक्ष राजन महर्जनले बताउनुभयो । मयलको हाँगो काटेर ल्याई नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार बिहान ८ः२६ बजे चिरोत्थान गरिएको हो ।
वसन्तपुरका पनि चार स्थानमा चिरोत्थान गरिएको छ । हनुमानढोका दरबार क्षेत्रका सुन्दरीचोक, दाखचोक, हनुमान मन्दिरअघि र गद्दी बैठकअघि गरी चार स्थानमा लिङ्गो गाडिएको छ । पशुपति र वसन्तपुर दरबार क्षेत्रका सात स्थानमा लिङ्गो गाड्ने चलन प्राचीनकालदेखि रही आएको छ । आज चिरोत्थान गरिएसँगै फागु पर्व शुरु भएको मानिन्छ । फाल्गुन शुक्ल पूर्णिमाका दिन फागुपूर्णिमा पर्व मनाइन्छ ।
फाल्गुन शुक्ल अष्टमीका दिन गाडिएको लिङ्गो फाल्गुन शुक्ल पूर्णिमाका दिन बेलुकी ८ः३६ बजे ढाल्न शुभ हुने साइत समितिले दिएको छ ।
लिङ्गो ढालेर त्यसै बेलुकी ८ः५६ मा दहन गर्नुपर्ने समितिले जनाएको छ । चिरोत्थानका लागि मयलको हाँगो काट्ने, ल्याउने र गाड्ने काममा वसन्तपुर क्षेत्रका मानन्धर समाजका सदस्य सक्रिय हुने परम्परा रही आएको छ ।
वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रुपमा लिइन्छ । आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र बसन्त राग गाउँदै नाच्दै अविर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।
धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त मार्ने प्रयास गर्ने होलिका नै भष्म भइन् । आगोले प्रह्लादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ ।