काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिएका छन् ।
काभ्रेपलाञ्चोक जिल्लामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर भएको हो । मर्जरपछि एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका नामबाट आजदेखि एकीकृत कारोबार शुभारम्भ भएको छ ।
गत साउनमा दुई संस्थाबीच मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही प्रक्रियाबमोजिम कात्तिकमा नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि सैद्धान्तिक सहमति प्राप्त भएको थियो ।
मर्जरसम्बन्धी अन्तिम सम्झौताअनुसार दुवै संस्थाको छुट्टाछुट्टै वार्षिक साधारण सभा सम्पन्न गरिएको थियो । उक्त वार्षिक साधारणबाट पारित विशेष प्रस्तावबमोजिम एक आपसमा मर्जर कार्य गर्न अन्तिम स्वीकृति प्राप्त भयो । सो अनुसार एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको हो ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष लालमणि जोेशीले एक कार्यक्रमका बीच संयुक्तरुपमा संयुक्त कार्यको शुभारम्भ गर्नुभएको सो वित्तीय संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेशलगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कुल १५० शाखा सञ्चालनमा रहेका छन् । त्यसैगरी स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका नेपालभरि ८५ शाखा सञ्चालनमा छन् । मर्जरपश्चात् कुल शाखा संख्या २२३ शाखा कार्यालयबाट एक लाख ३५ हजारभन्दा बढी सदस्यलाई संस्थाले उत्कृष्ट लघुवित्तीय सेवा प्रदान गरिरहेको छ । मर्जरपश्चात संस्थाको पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० लाख पुग्नेछ भने संस्थाको कर्जा लगानी रु. १५ अर्बभन्दा माथि पुग्नेछ ।
भविष्यमा उत्कृष्ट लघुवित्त बन्ने लक्ष्य साथ अगाडि बढेको यस संस्था यो मर्जरपश्चात अझ बलियो र सवल भई उक्त लक्ष्य हासिल हुनेमा संस्था विश्वस्त रहेको बताइएको छ ।
मर्जरसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जरपश्चात् ‘साथीसँगै सबल बन्दै’ भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र चुक्ता पूँजी भएको देशकै एक ठूलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने विश्वास संस्थाले लिएको छ ।
त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशीकरणका लागि डोटी, जुम्ला, जाजरकोटलगायत बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्र्दै आएको सो संस्थाका सूचना अधिकारी प्रह्लादचन्द्र निरौलाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।