काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले पार्टी हितविपरीत काम गर्ने नेता माधवकुमार नेपालसहितका पाँचजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो ।
केन्द्रीय सदस्य महेश बस्नेतका अनुसार बैठकले पार्टीको विधान र हितविपरीत गतिविधि गर्ने नेताहरु माधव कुमार नेपालसहितका अन्य नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने र चितबुझ्दो जवाफ नआए कारबाही गर्ने निर्णय गरेको छ । चितबुझ्दो जवाफ नआए कारबाही गरिने बताइएको छ ।
पार्टीलाई खुइलाउने काम गरेको, गुटगत भेला गरेको र सरकारलाई बदनाम गर्ने काम गरेकाले स्पष्टीकरण सोध्ने निर्णय भएको नेता बस्नेतले बताउनुभयो । सोहीअनुसार बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरुको बन्दसूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।
आजै संसदीय दलको विधान संशोधनको सिफारिस संसदीय दलको बैठकबाट पारित गरिएको थियो । विधानमा दलको नेताले दल, पार्टी र देशविरुद्ध गतिविधि कुनै सदस्यले गरेको दलको नेतालाई लागेमा स्पष्टीकरण सोध्नसक्ने अधिकार दिइएको थियो । उक्त व्यवस्थासहितको विधान शनिबार नै केन्द्रीय कमिटीबाट पनि पारित भएको थियो । सोही विधानअनुसार पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय लिइएको हो । बैठकले पार्टी अध्यक्षलाई थप शक्तिशाली बनाएको छ । नेता बस्नेतकाअनुसार अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गरिने सबै काम अध्यक्षलाई अख्तियारी गर्ने निर्णय गरेको छ । सोहीअनुसार केन्द्रीय कमिटी बैठकले संसदीय दलको विधान संशोधनसहित अनुमोदन गरेको थियो ।