काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटगत भेला गर्नेलाई स्पष्टीकरणमात्र होइन आत्मालोचना नगरे कारबाही नै हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई संकेत गर्दै प्रधानमन्त्री ओलीले भेलाका अगुवालाई स्पष्टीकरण सोध्ने र आत्मालोचना नगरे कारबाही गर्नेसमेत चेतावनी दिनुभयो ।
प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षका सांसदहरु सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवारको बैठकमा उपस्थित नहुनुको कारणसहितको पत्र बुझ्दै भन्नुभयो– सामूहिक रूपमा आएका प्रस्ताब स्वीकार गरिँदैन । व्यक्तिगत ढङ्गले आएर आफ्नो कुरा लिखित मौखिक रूपमा राख्नुस्, सबैलाई मौका दिइन्छ । गुटहरूसँग अब कुनै सम्झौता र संवाद हुँदैन ।
प्रधानमन्त्री ओलीले नेपाल समूहले प्रतिक्रियावादी तत्वसँग साँठगाँठ गरी गुटको भेला गरेर कम्युनिष्ट आन्दोलनलाई कलंकित बनाउन खोजेको बताउनुभयो ।
उहाँले कम्युनिस्ट अन्दोलनकै इतिहासमा कलंकको रुपमा चिनिएको भेला आयोजना गर्ने अगुवालाई स्पष्टीकरण सोधिने बताउनुभएको छ । आत्मालोचना गरेर आए सोच्न सकिने नत्र कारबाहीको प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले सरकारले संसदलाई बिजनेस दिएन भन्ने कुरा गलत भएको दाबी गर्दै प्रधानमन्त्रीको राजीनामा माग्नेहरुले संसदमा अविश्वास प्रस्ताव ल्याएर देखाउन चुनौती समेत दिनुभयो ।
साे बैठकले विधान संशोधन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ । बैठकले संशोधित विधान पारित गर्दै उक्त विधानलाई केन्द्रीय समितिमा लैजाने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
संसदीय दलको बैठकले विधान संशोधन गरेर केन्द्रीय समितिमा पठाउने निर्णय गरेको प्रमुख सचेतक भट्टराईले बताउनुभयो । बिहीबार बसेको एमाले संसदीय दलको बैठकले सांसदहरु विशाल भट्टराई, शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल रहेको ३ सदस्यीय विधान संशोधन कार्यदल बनाएको थियो । कार्यदलले संशोधन प्रस्ताव तयार गरेको र सोही प्रस्ताव आजको बैठकबाट पारित भएको हो ।

























