काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) को संसदीय दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघिदेखि बसिरहेको एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।
सो बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ । यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो ।
बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुनुभएको छ । उहाँका अनुसार संसदीय दलको बैठकलगत्तै एमालेको १२औँ केन्द्रीय कमिटी बैठक बस्नेछ ।
त्यसैगरी बैठकमा नेपाल समूहमा रहेका भनिएका अरु सांसदहरूको पनि उपस्थिति रहेको छ । एमाले माधव नेपाल पक्षका प्रभावशाली सांसद कृष्णभक्त पोखरेलले केपी शर्मा ओली नेतृत्वको मूलधारमा लागेको घोषणा गर्नुभएको छ । आज संसदीय दलको बैठकमा उपस्थित भएर उहाँले यस्तो घोषणा गर्नुभएको हो ।
दलको बैठकमा बोल्दै पोखरेलले फागुन २३ को फैसलापछि सबैभन्दा खुसी मनाउनेमा आफू पनि रहेको भन्दै गौरवशाली पार्टी एमाले, जबज र सूर्य चिन्ह पाएपछि आफू केपी शर्मा ओलीको अभियानलाई सघाउन पूरानो समूह त्यागेर आएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो– म अब मूलधारमा लागेँ,यसबीचमा कहीँ कतै गल्ती भएको भए माफ पाउँ । अब सम्बृद्ध नेपाल बनाउन केपी शर्मा ओलीको अभियानलाई साथ दिन र पार्टी एकताका लागि म यहाँ आएको छु ।
माधव नेपालहरुले पनि केपी ओलीलाई बिनाशर्त साथ दिनुपर्ने पोखरेलको भनाइ थियो । चितवनबाट निर्वाचित सांसद पोखरेल कानुन व्यवसायी पनि हुनुहुन्छ ।

























