काठमाडौं । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले २ सय ३५ भन्दा बढी उद्योगी व्यवसायीलाई आज नेकपा एमालेमा प्रवेश गराउनुभएको छ । उद्योगी व्यवसायीसँग प्रधानमन्त्रीले गर्नुभएको छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, मारवाडी संघलगायतका २ सय ३५ भन्दा बढी उद्योगी व्यवसायी नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।
पार्टी प्रवेशमा गोल्छा अर्गनाइजेशनका सन्चालक तथा दिवाकर गोल्छाका छोरा हितेश गोल्छा पनि एमाले प्रवेश गर्नुभएको छ । उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान त्यस्तै उद्योगी ललित अग्रवाल, नेपाल टेलिभिजनका पूर्व अध्यक्ष सिताराम अग्रवाल, कृष्ण प्रसाईलगायत व्यवसायीहरु एमाले प्रवेश गर्नुभएको छ । विशाल बजार सन्चालक समितिका अध्यक्ष नरेन्द्र गुप्ता, ओमप्रकाश बंशल, जुगल किशोर धनावतलगायत मारवाडी समुदायका व्यवसायी समेत एमाले प्रवेश गर्नुभएको छ । उहाँहरुलाई प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोति दुगडको अगुवाईमा एमाले प्रवेश गराइएको हो ।
एमाले प्रवेश गर्ने उद्योगी व्यवसायीहरुलाई अध्यक्ष केपी शर्मा ओली र महासचिव इश्वर पोखरेलले खादा र माला लगाएर स्वागत गर्नुभएको थियो ।