काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) ले शनिबारका लागि केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाएको छ । बैठकका लागि झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सबै सांसद तथा केन्द्रीय कमिटी सदस्यहरुलाई आमन्त्रण गरिएको स्रोतले बताएको छ ।
प्रमुख सचेतक विशाल भट्टराईका अनुसार भोलिको संसदीय दलको बैठकमा संसदीय दलको संशोधित विधानको प्रस्ताव छलफलका लागि प्रस्तुत हुनेछ ।
प्रमुख सचेतक भट्टराईको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले संशोधित विधानको प्रस्ताव भोलिको बैठकमा छलफलका लागि पेश हुने भएको छ । उहाँका अनुसार भोलिको बैठकमा नेता वामदेव गौतमसहित थुप्रै सांसद र नेताहरुको सहभागिता रहनेछ । यसअघि नेता गौतमले शुक्रबार आयोजित एक कार्यक्रममा केन्द्रीय कमिटी बैठकमा सहभागी हुने बताउनुभएको थियो ।
केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद नारदमुनी रानाका अनुसार शनिबार बिहान साढे दस बजेका लागि बालुवाटारमा संसदीय दलको बैठक आव्हान गरिएको छ । त्यसलगत्तै १२ बजेका लागि केन्द्रीय कमिटी बैठक बस्ने तय भएको छ ।