काठमाडौँ । कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि शुरु भएको छ । नेपाल बार एसोसिएसन महिला समितिले आज अप्रत्यक्ष रुपमा गरेको सम्मेलनको उद्घाटन सर्वोच्च अदालतमा न्यायाधीश सपना प्रधान मल्लले गर्नुभयो ।
न्यायाधीश मल्लले विषम परिस्थितिमा पनि महिला कानून व्यवसायीले राम्रो भूमिका खेलेको बताउनुभयो । उहाँले कोभिडका सयममा पनि महिला कानून व्यवसायीले राम्रो भूमिका खेलेको उल्लेख गर्दै जस्तोसुकै विषम परिस्थितिको अवस्थामा महिला नै बढी मारमा पर्ने भएकाले त्यस्ता महिलाको सहयोग कानून व्यवयासी महिलाले गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल बारका महासचिव लीलामणि पौडेलले महिला कानून व्यवसायीले समयसान्दर्भिक रुपमा राम्रो विषयवस्तु उठाउन गरेको र सम्मेलनले विषम परिस्थितिमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा बृहत् छलफल गर्नुपर्ने बताउनुभयो । सम्मेलनमा प्राडा शशी अधिकारीले ‘विषम परिस्थितिमा न्यायमा पहुँच र समानमा ‘कानून व्यवसायी महिलाको प्रतिबद्धता’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
बारका उपाध्यक्ष तथा महिला समितिका संयोजक रक्षा बस्यालले विपद्, युद्ध र महामारीमा महिला नै बढी असर पर्ने भएकाले त्यस्तो अवस्थामा महिलालाई न्यायमा पहुँच पु–याउने, विषम परिस्थितिमा कसरी काम गर्ने भनेर भावी योजनाका लागि र विपद्मा कानून व्यवसायी महिलाले पुलको भूमिकाका रुपमा काम गर्नुपर्ने भन्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरेको जानकारी दिनुभयो । शनिबारसम्म चल्ने दुईदिने सम्मेलनमा करिब ४०० महिला कानून व्यवसायीको सहभागिता छ ।