काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारणले शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा बिजुली कटौती हुने जनाएको छ । शनिबार बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।
सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काटिन लागेको प्राधिकरणले जनाएको छ । यस्तै, सोही फिडरको बत्तिसपुतली क्षेत्रमा बिजुली कटौती हुनेछ । बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको भनाइ छ । पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगंगा, शारदा स्कूल, सूचना विभागलगायतका क्षेत्रमा लाइन मर्मत गर्न लागिएकाले लाइन काटिन लागेको प्राधिकरणको सूचना छ । प्राधिकरणका अनुसार शनिबार देशका विभिन्न स्थानमा लाइन मर्मत गर्न बिजुली कटौती गर्न लागिएको छ । लाइन कटौती भएका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।