काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कुनै व्यक्तिको प्रधानमन्त्री हुने सपना पूरा नहुँदैमा सरकारका कदमलाई प्रतिगमन भन्न नमिल्ने जिकिर गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा मन्त्री ज्ञवालीले कोही व्यक्तिलाई प्रधानमन्त्री बन्ने रहर लागेकाले त्यो पुरा भएन भन्दैमा पश्चगमन हुन्छ ? भन्दै प्रतिप्रश्न गर्नुभयो । सरकारले अग्रगामी कार्य गरेको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउनु प्रतिगमन होइन, कोभिड १९ विरुद्ध खोप लगाउनु प्रतिगमन होइन । तराईका जिल्लामा पानीको व्यवस्था हुनु प्रतिगमन होइन । नागढुंगामा सुरुङ्गमार्ग खोलिनु प्रतिगमन होइन । सडक कालोपत्रे बनाउनु प्रतिगमन होइन ।’
सर्वोच्चको फैसलाअनुसार अब संसद् बैठकबाटै राजनीतिक स्थायित्व खोज्नुपर्ने बाध्यात्मक अवस्था आएको उहाँले बताउनुभयो ।
संविधानले सदन सञ्चालनसँग सम्बन्धित, अध्यादेशसँग सम्बन्धित प्रष्ट व्यवस्था गरेको बताउँदै उहाँले भन्नुभयो, “संसदको पहिलो बैठकमा अध्यादेश प्रस्ताव ल्याउन पाइने व्यवस्था छ तर त्यो प्रस्तावमा हामीले सहमति जुटाउन सकेनौं, चिन्ताको विषय हो ।”
संक्रमणकालिन न्यायलाई टुङ्गोमा पु¥याउन आयोगको समयावधि बढाउने, एसिड आक्रमणका घटनाको सजाय सम्बन्धी व्यवस्थाको प्रस्तावसमेत संसद बैठकमा रोक्ने काम हुनु उचित नभएको उहाँले बताउनुभयो ।
संविधानप्रति सबै दलको साझा धारणा छ तर पनि कार्यान्वयनमा फरक बुझाइ भइरहेको चर्चा गर्नुहुँदै मन्त्री ज्ञवालीले विधिको शासनप्रति सबै दल प्रतिबद्ध हुनुपर्ने विचार राख्नुभयो । संविधान जारी भइसकेपछि सिके राउत समूह र पछिल्लो समय विप्लब नेतृत्वको नेकपा माओवादीलाई शान्तिपूर्ण मूलप्रवाहमा ल्याउने काम भएको उहाँले बताउनुभयो । कानुनको दायराभित्र आपसमा मतभेद हुनु लोकतन्त्रमा छुट छ तर संविधानको उल्लंघन गर्ने छुट कसैलाई नभएको उहाँले बताउनुभयो ।
मुलुक कोरोनाले ग्रस्त भएको बेला सरकारले कुशलतापूर्वक सामना गरेको चर्चा गर्नुहुँदै मन्त्री ज्ञवालीले कोभिड १९ को मामिलामा नेपालले नयाँ दृष्टान्त प्रस्तुत गरेको बताउनुभयो । नेपालले कोभिड १९ खोप समयमै शुरु गरेको उहाँले चर्चा गर्नुभयो । अर्को चरणको खोप चाँडै शुरु हुने उहाँले जानकारी दिनुभयो ।
छिमेकी मुलुक भारत र चीनले खोप उपलब्ध गराएकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
खोप शुरु भएपनि अझै संकट पूर्णतः अन्त्य भइनसकेकाले सबैलाई सचेत रहन उहाँले आग्रह गर्नुभयो । मन्त्री ज्ञवालीले नेपालले बाह्य मुलुकसँगको सम्बन्ध विस्तारमा पनि सफलता प्राप्त गरेको जानकारी दिनुभयो ।
मन्त्री ज्ञवालीले वर्तमान सरकारले उल्लेखनीय कार्य गरेको दाबी गर्नुभयो । अल्पविकसित मुलुकको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस हुनु खुसीको कुरा भएको उहाँको भनाइ थियो ।
त्यसैगरी वर्षौंदेखि काठमाडौंवासीले काकाकुलले झैं पर्खिरहेको मेलम्ची आइपुगेको र केही दिनमै काठमाडौंवासीका घरका धारा–धारामा पुग्ने मन्त्री ज्ञवालीले बताउनुभयो ।