काठमाडौं । आज बसेको नेकपा एमाले संसदीय दलको बैठकले गुटगत भेला गर्नेहरुलाई कारबाही गर्ने निर्णय गरेको छ । उक्त बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरुलाई निर्देशन दिएको छ ।
बालुवाटारमा बसेको बैठकले पार्टी बाहेक अरुले बोलाउने भेलामा नजान सांसदहरुलाई निर्देशन दिएको हो ।
बैठकले यसअघि गुटगत भेलामा जानेहरुलाई आत्मालोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वानसमेत गरेको छ । बैठकले दलको बैठकको निर्णय नमाने कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ ।
पार्टी निर्णय नमानेमा विधान अनुसार, स्पस्टीकरण र कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको बैठकमा सहभागी एक सांसदले बताउनुभयो ।
आजकै बैठकले संसदीय दलको बोर्ड गठन र विधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको बताइएको छ ।
माधव–झलनाथ पक्षका केही सांसदहरु संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटारतर्फ लागेका थिए । तर उनीहरुलाई माधव–झलनाथको सहभागी नहुन निर्देशन आएपछि बाटैबाट फर्केका थिए ।
यसअघि माधव–झलानाथ समूहमा खुलेका सांसदहरु गंगा चौधरी, माया ज्ञवाली, तुलसा थापा, कलिला खातुन बालुवाटार बैठकमा सहभागी भएको स्रोतले बताएको छ ।
यसैबीच नेकपा एमालेको संसदीय बोर्ड गठन भएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षता गठित बोर्डमा झलनाथ खनाल, माधवकुमार नेपाल, सुवास नेम्वाङ, विशाल भट्टराई, सुमन प्याकुरेल, बिमला राई पौड्याल, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, रेखा झा, राजेन्द्र राई, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा छन् ।
यस्तै, भूपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल र विमला विश्वकर्मा पनि बोर्ड सदस्य रहेका छन् । थप तीन जना भने बोर्डको बैठकले चयन गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।
नेकपा एमालेको संसदीय दलको विधान अनुसार २३ सदस्यीय एमाले संसदीय बोर्ड गठन गरिएको हो ।
त्यस्तै दलको उपनेता, राष्ट्रियसभा दलको नेता, संघीय संसदको प्रमुख सचेतक र सचेतक, राष्ट्रियसभाका प्रमुख सचेतक बोर्डको पदेन सदस्य हुन्छन् ।
बोर्डमा प्रत्येक प्रदेशबाट १ जनाको दरले ७ जना प्रादेशिक प्रतिनिधि, दलित, मधेशी, मुस्लिम, आदिवासी जनजाति र पिछडिएको क्षेत्रबाट ६ जना निर्वाचित हुनेछन् ।
बोर्डमा एक तिहाइ महिला सदस्य संघीय संसदीय दलद्वारा निर्वाचित हुनेछन् । त्यस्तै बोर्ड सदस्यमा बढी मत प्राप्त गर्ने उम्मेदवारहरु पनि क्रमशः निर्वाचित हुने व्यवस्था विधानमा छ ।