काठमाडौं । सिन्धुली जिल्लामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् भने दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताउनुभयो ।
सो दुर्घनामा वर्ष ६५ का रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उहाँका छोरा दुई वर्षका मनिष श्रेष्ठको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नपा करङडाँडामा भएको सो दुर्घटनामा घाइते भएकाहरूको सिन्धुली र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बा १७ च १११७नम्बरको बोलेरो सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दिउँसो पौने ४ बजे सडकबाट ५० मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट बाँसकोटतर्फ जाँदै गरेको जिप आफैं अनियन्त्रित भएर पल्टिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ । जिपमा ११ जना सवार थिए ।