मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पत्रकार राष्ट्र र जनताको ऐना भएको बताउनु भएको छ । नेपाल पत्रकार महासङ्घ मोरङ र केदारबहादुर वस्नेतद्वारा स्थापित षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार–२०७६ वितरण गर्दै उहाँले सञ्चारकर्मीको कलमबाट मुलुक र जनताको अनुहार देखिनुका साथै सुशासन कायम गर्न सहयोग पुग्ने धारणा व्यक्त्त गर्नुभयो ।
प्रदेश प्रमुख अधिकारीले पत्रकारका कारण नेपालमा ठूलाठूला आन्दोलन सफल भएको चर्चा गर्दै वर्तमान अवस्थामा सञ्चारकर्मीले थप जिम्मेवार रही कार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुुभयो । महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सार्वजनिक निकायमा भएका सूचनाका मालिक जनता भएको हुनाले महासङ्घले नागरिकलाई बलियो वनाउन सूचनाको हक प्रयोगमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सभासद जयराम यादव, पुरस्कार स्थापनाकर्ता वस्नेत, पुुरस्कृत व्यक्तित्व धर्मेन्द्र झा, महासङ्घका प्रदेश–१ का अध्यक्ष विक्रम लुुइटेल, प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्मा, महासङ्घ मोरङ अध्यक्ष वन्धुु पोखरेल तथा उपाध्यक्ष कुुमोद अधिकारीले सूचना हकअधिकारबाट आम नागरिकको सरोकार विषयमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
षष्टिका वस्नेत सुुचनाको अधिकार पुुरस्कार–२०७६ बाट महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा तथा प्रोत्साहन पुरस्कारबाट झापाका पत्रकार मोहनकाजी न्यौपानेलाई पुुरस्कृत गरिएको छ । पुुरस्कारको राशि रु ५० हजार र रु १५ हजार रहेको छ ।
विराटनगर–११ निवासी केदारवहादुुर वस्नेतले आफ्नो धर्मपत्नी स्वर्गीय षष्टिका वस्नेतको नाममा सो पुुरस्कार स्थापना गर्नुुभएको हो । विस २०७३ मा स्थापना भएको उक्त पुरस्कारबाट यसअघि विनय कसजु, तारनाथ दाहाल र शिव गाउँलेले प्राप्त गर्नुभएको थियो भने प्रोत्साहन पुरस्कारबाट राजु श्रेष्ठ र गणेश लम्साललाई सम्मानित गरिएको थियो ।