काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५९ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ६१५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५९ जनामा सङ्क्रमण भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ८६९ पुगेको बताउनुभयो ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा ६० जना सङ्क्रमित निको भएका छन् । योसँगै हालसम्म दुई लाख ७० हजार ९८७ जना सङ्क्रमित निको भएका हुन् । सङ्क्रमित निको हुने दर ९८.६ प्रतिशत पुगेको छ । हालसम्म २१ लाख ९९ हजार ९५० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ८७० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने ५६ जना क्वारेन्टिनमा रहेका छन् । विगत २४ घण्टामा एकजनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १२ जनाले ज्यान गुमाइसकेका छन् ।