काभ्रे । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानी गर्नका लागि उपयुक्त वातावरण बनेको बताउनुभएको छ ।
काभ्रे उद्योग वाणिज्य संघको शनिबार सम्पन्न भएको ४१औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकको ब्याजदर एकल अङ्कमा आएको तथा कोभिड–१९ को प्रकोप पनि विस्तारै कम हुँदै गएकाले मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको बताउनुभएको छ ।
बैंक तथा व्यवसायीहरुबीचको सम्बन्ध सुमधुर हुनुपर्ने बताउँदै ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले अब बैंकलाई मात्र दोष दिएर बस्ने बेला नरहेको बताउनुभयो ।
‘बैंकको ब्याजदर र आधार दर सिङ्गल डिजिटमा झरेको तथा स्प्रेड दर पनि केन्द्रीय बैंकले तोकेको दरभन्दा पनि तल झरिसकेको छ । अब तपाईं हामीले बैंकलाई गाली गरेर बस्ने होइन व्यावसायिक गतिविधिहरुलाई बढाउनुपर्ने बेला आएको छ’, उहाँले भन्नुभयो ।
मुलुकभित्र लगानी मैत्री वातावरण थप सुधार गर्दै जान अहिलेको कर तथा भ्याटको दरमा पनि विस्तारै परिमार्जन गर्दै जानुपर्ने बताउँदै उहाँले यसका लागि महासंघले निजी क्षेत्रका तर्फबाट सरकार तथा सम्बन्धित निकायसमक्ष आवाज उठाउने बताउनुभयो ।
उहाँले निर्वाचनपछि सबै समूह एक भएर अगाडि बढ्नुको विकल्प नभएको धारणा राख्नुभयो । निर्वाचनको समयमा पक्ष तथा विपक्ष भएर निर्वाचनको मैदानमा उत्रिए पनि निर्वाचन सकिएकै दिनदेखि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने उहाँले भन्नुभयो । उहाँले अहिलेको महासंघको नेतृत्वले मुलुकमा व्यावसायिक वातावरण बनाउन सरकार तथा अन्य सरोकारवाला निकायसँग निरन्तर वार्ता, संवाद तथा सहकार्य जारी राखिने बताउनुभयो । वरिष्ठ उपाध्यक्ष ढकालले काभ्रे उद्योग वाणिज्य संघको ४१औँ वार्षिक साधारणसभाले एउटा जुझारु र सक्षम नेतृत्व चयन गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला नगरका साना व्यवसायीहरुका समस्या समाधानमा जिल्ला नगरका नेतृत्वमा रहेका व्यवसायीहरु सक्षम रहेको बताउँदै उहाँले जिल्ला÷नगरका उद्योगी, व्यवसायीहरुका समस्या समाधानका लागि जिल्ला नगरका व्यवसायीहरुसँग होस्टेमा हैँसे गर्न महासंघको नयाँ नेतृत्व सधै तत्पर रहेको बताउनुभयो ।