काठमाडौं । कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताउनुभएको छ ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री अर्यालले मलको अभावमा उत्पादन घट्ने कार्य गर्नुनहुने बताउनुभयो ।
उहाँले मलको अभावमा उत्पादन घट्ने र किसान एवं सिंगो मुलुक मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताउनुभयो ।
तत्कालीन समाधानको रुपमा अहिले गरिएको व्यवस्थापन, मध्यकालीन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ति र दीर्घकालिन समाधाका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने गरी मन्त्रालयले कार्य गरिरहेको उहाँले बताउनुभयो । मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मलको भण्डारणको व्यवस्था गरिने उहाँको भनाइ थियो ।
अनुमानका आधारमा मलको आपूर्ति नभई तथ्य र आवश्यकताका आधारमा गर्ने गरी सबै प्रदेशसँग त्यहाँको आवश्यकता माग गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मलको आपूर्ति अनुमानको आधारमा होइन, तथ्य र आवश्यकताको आधारमा गर्ने गरी त्यहाँका प्रदेशहरूसँग आवश्यकता कति हो भन्ने माग गरिएको छ । त्यसको आधारमा प्रबन्ध गरिनेछ ।”
मन्त्री अर्यालले यस आर्थिक वर्षमा व्यवस्था गरिएको ११ अर्ब बजेटमध्येबाट ५ लाख मेट्रिक टन युरिया मल (२ लाख ८२ हजार ५ सय, डिएपी २ लाख २ हजार ५ सय र पोटास १५ हजार) आयात गर्ने योजना रहेको बताउनुभयो ।
जसमध्ये यस आर्थिक वर्षमा १ लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइ सकेको छ भने १ लाख ६२ हजार मेट्रिक टन स्टक र नेपाल भित्रिने क्रममा रहेको मन्त्री अर्यालले जानकारी दिनुभयो । गत वर्ष जम्मा ३ लाख ९४ हजार ६ सय मेट्रिक टन मल बिक्री भएको थियो ।
यस आवको आयातबाट जम्मा २ लाख मेट्रिक टन मल आगामी धान सिजनका लागि मौज्दात रहने देखिन्छ । पछिल्ला ३ वर्षहरुको बिक्रीका आधारमा साउनदेखि असोजसम्म जम्मा १ लाख ३ हजार मेट्रिक टन मल खपत हुने अनुमान गरिएको छ । यस आर्थिक वर्षकै बाँकी मलबाट पूर्ति हुने देखिन्छ । आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनेगरी प्रथम चौमासिक अवधिमा करिब ३ लाख मेट्रिक टन मल आपूर्तिका लागि यही महिनाबाट आयात प्रक्रिया शुरु गरिने पनि मन्त्री अर्यालले जानकारी गराउनुभयो ।