काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषले (युएनएफपीए) ले विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
हस्तान्तरित सामग्रीमा ६ हजार ४८ थान व्यक्तिगत सुरक्षा कवच (पिपिई), ५० हजार जोडा ग्लोब्स्, ५० हजार थान सर्जिकल मास्क र २७ सेट अन्तरनिकाय प्रजनन् स्वास्थ्य सामग्री (आइएआरएच किट्स) रहेका छन् । ती सामग्रीे सहयोगले आवश्यक यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा सम्बन्धी सेवा सुनिश्चित गर्दै कोभिड–१९ महामारी नियन्त्रण गर्ने सरकारको प्रयासलाई सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
मन्त्रालयमा आज आयोजित कार्यक्रममा यूएनएफपिए एक प्रतिनिधिद्वारा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई ती सामग्री हस्तान्तरण गरेका थिए । नेपाल, चीन र युनएफीपएबीचको विद्यमान दक्षिण–दक्षिण साझेदारीअन्तर्गत चीन सरकारको सहयोगमा यूएनएफपिएले करिब तीन करोड मूल्य बराबरको पिपिई, आइएआरएच किट्स तथा अन्य सामग्री खरिद गरेको युनएफीपएद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । रासस