काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजारभन्दा बढी ढुवानीकर्तालाई कारबाही गरेको छ ।
निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्यांकरले लकिङ तथा फिटिङमा कैफियत गरेको पाइएपछि पछिल्लो तीन महिनामा उनीहरूलाई कारबाही गरिएको हो।
निगमको १ नं प्रादेशिक कार्यालय विराटनगरले तोकिएको मापदण्डभन्दा बढी क्षति गर्ने ५३ ट्रक तथा ट्यांकरलाई कारबाही गरेको छ।
लकिङ तथा फिटिङ चेक गर्दा गलत ढंगले पाइपलाइन ट्यांकीमा जडान गरिएको पाइएपछि उक्त ट्रकलाई प्रहरी हिरासतमा राखी कारबाही अगाडि बढाइएको १ नं प्रादेशिक कार्यालयले जनाएको छ । ट्यांकीको ताला काटिएको अवस्थामा फेला परेका ती ट्यांकरलाई तीन महिनाका लागि पेट्रोलियम पदार्थको आपूर्तिमा रोक लगाइएको छ ।
यस्तै पछिल्लो तीन महिनामा २ नं प्रादेशिक कार्यालयले पनि १५० वटा ट्रक तथा ट्यांकरलाई कारबाही गरेको जनाएको छ । कार्यालयका अनुसार उनीहरूलाई १५ दिनसम्मका लागि ढुवानीमा निलम्बन गरिएको छ । निगमकै इतिहासमा यो सबैभन्दा ठूलो कारबाही भएको बताइएको छ ।
कार्यालयले पाँच चालक तथा सहचालकलाई कालोबजारी मुद्दा दायर गरी आजीवन निगमको कुनै पनि डिपोमा प्रवेश गर्न नपाउने गरी निषेध गरेको छ । अनुगमनका क्रममा मिसावट र चोरी गरेको भेटिएपछि पाँच ट्यांकरलाई छ महिनाको लागि ढुवानी गर्न निलम्बन गरिएको छ । निगमले पछिल्लो तीन महिनामा अनियमितता गर्ने तीन सय ट्यांकर तथा ट्रकलाई कारबाही गरेको छ। निगमले जरिवानाबापत ती ट्रक तथा ट्यांकरबाट १० हजार संकलन गरेको छ ।
महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले निगम सुधारको रणनीति योजनाअन्तर्गत रहेर कालोबजारीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । ‘निगमको कदमले गैरकानूनी काम गर्ने निरुत्साहित हुने भएकाले यो निगमकै इतिहासमा एक महत्वपूर्ण कारबाही भएको उहाँले बताउनुभयो ।
अनियमित गर्ने ट्यांकरमाथि कारबाही गरेसँगै पेट्रोलियम पदार्थको चोरी र मिसावट नियन्त्रणमा आउने निगमले जनाएको छ । रासस