प्रिय कमरेड,
हार्दिक अभिवादन ।
तपाईं देशबाहिर हुनुहुन्छ ।
हाम्रो राजनीतिक आस्था, हाम्रो वर्ग र निष्ठाको कित्ता एउटै भएकाले आज देशमा घटेको एउटा घटना र घटना–सन्दर्भ उठाउन चाहन्छु । यद्यपि, सुनिसक्नुभएको होला ! तथापि, सारमा म यसलाईं यसरी बुझ्दछु :–
मूलतः आफ्नै दलभित्रबाट जनापेक्षित ढंगले केही गर्न सक्ने स्थिति विकास नभएपछि गएको पौष ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभाको विघटन गर्नुभएको थियो । यसमाथि सर्वोच्च अदालतले सम्पन्न गरेको काम कारबाही आज सार्वजनिक गरेको छ । निर्णय आएलगत्तै कुरा यस्तो छ ।
देश चुनावमा हेलिएको अवस्थामा सर्वोच्च अदालतको फैसला अपेक्षित ढंगले आएन । तथापि, नेपाली जनता मान्न वाध्य छ । बहुमत प्राप्त प्रधानमन्त्रीले गरेको निर्णय अल्पमतको आग्रहका भरमा बदर होला ! ‘सामान्यतया अपेक्षित थिएन– फैसला । तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्न वाध्य भएका छौं ।’ जुन समस्या देखाएर संसद विघटन गरिएको थियो, अब त्यो समस्या समाधान भएन, बरु झनै कायमै रहने भयो ।
सर्वोच्च अदालतले संसारभरिका संसदीय अभ्यास, परम्परा र नेपाली जनताको भावनालाई नबुझीकन केवल संविधानको अक्षरलाई मात्र समातेर संसद पुनस्थापनाको निर्णय भएको छ । परम्परागत ढाँचा र ढर्रामा अल्झेको अदालतले यसो गर्छ भन्ने हामी कसैलाईं लागेकै पनि थियो । यसबीचमा सेटिङ आदि भनेर अफवाह फैलाउने र झुटको खेती गर्ने पनि भयो । फलतः मुलुकको राजनीति क्रमशः अस्थिरतातर्फ लम्कियो ।
अन्ततः परिस्थिति फरक ढंगले विकास भयो । हामी राजनीति गर्नेले परिस्थिति जे भए पनि मनस्थिति बलियो चाहिँ बनाउनुपर्छ । हामी सबै एकजुट भएर, अझ सुदृढ र सशक्त भएर, थप बढी शुद्धिकृत भएर उच्च मनोवलका साथ अघि बढ्न आवश्यक छ । सत्य र न्यायको जीत अदालतबाट होइन, जनताको जनादेशबाटै हुनेछ भन्ने विश्वास दिलाउन आवश्यक छ ।
नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जनको खतराबाट बचाउँदै, जोगाउँदै इमान र निष्ठासाथ जनताको बहुदलीय जनवादको आलोकमा संगठन निर्माण गर्दै अघि बढ्नुपर्छ ।
राजनीतिक बैचारिक हिसावले हेर्ने हो भने पिलो निचोर्नु थियोे, गाह्रो–साह्रो सहेर निचोरियो, अब केहीबेर सहनुपर्छ, सञ्चो अवश्य हुन्छ ।
एउटा अवस्था रिटमा जाने हो । क्रमशः अब सहयात्री नेपाली काङ्ग्रेसको सहयोगमा विश्वासको मत लिएर अघि बढ्ने हो । यो नभए प्रधानमन्त्रीले राजीनामा दिने हो । अहिलेका प्रधान न्यायाधिस श्रीमान चोलेन्द्रलाई प्रधानमन्त्री बनाउँदैनन् नेकपा नेता प्रचण्ड र माधवकुमार नेपाल सहितको पद–आकाङ्क्षा समुहले । उनीहरूको त्यहीँ भागबण्डामा झगडा हुन्छ । सस्याना क्षेत्रीय राजनीतिक शक्ति सहितको सरकार बन्छ । ९ महिना चल्छ र ढल्छ । हो यहिँबाट अब क्रमशः राजनीतिक अस्थिरताले काम गर्छ ।
हामी स्थिरता र स्थायित्वका पक्षमा थियौँ । देशका लागि देशभित्रै निर्णय क्षमता चाहेका थियौँ । भएन ! यो आफैंमा दुर्भाग्यपूर्ण छ ।
चुच्चो नक्शाको प्रभाव थियोे यत्रतत्र । मूलतः यसपटक हामी यहिँमात्र एउटा मूल कारणले पछाडि धकेलिएको मात्र हो । अब आवश्यक परे राजनीतिक बैचारिक हिसावले सुदृढ नेकपा एमाले जिन्दावाद भन्न असजिलो मान्न हुन्न । जनताका सेवामूलक काममा आधारित एजेन्डामा काम गर्नुपर्छ । अन्ततः जित जनताको नै हुन्छ ।
हाम्रो राजनीतिक बैचारिक शक्ति अदालतले बनाएको, चलाएको होइन । अन्तिम फैसला जनताको जनमतको हुन्छ । अहिले नै बिग्रेको, सकिएको केही छैन । हामीले किमार्थ आत्तिनु हुँदैन । जनतालाई शीरमा राखेर अघि बढ्नुपर्छ ।
आज अदालतले विघठित संसद संसद पुनस्र्थापनाको आधार तयार गरेसँगै नेकपा नेता प्रचण्ड–माधव समुहले दीपावली मनाए पनि दीर्घकालीन महत्वका हिसावले यो जनताको जित होइन, उहाँहरूको पदास्थानका लागि अनुकूलता थपिएको मात्र हो । यसले नेपाली क्रान्तिका कार्यभार पूरा गर्ला !?! गम्भीर यहाँनेर हुनुपर्छ, पर्छ ।
अहिले यत्तिमात्र ।
धन्यवाद !
- युवराज बास्कोटा