काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका आरक्षपीडितको समस्या चाँडो समाधान गर्ने बताउनु भएको छ । चौथो शुक्लाफाँटा पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा मन्त्री आलेले वर्षौंदेखि आरक्षपीडित भएकाहरूको समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आरक्षपीडितका बारेमा मैले सबै बुझेको छु, चाँडै समस्या समाधान गर्न पहल गर्नेछु ।” मन्त्री आलेले यहाँका आरक्षपीडितहरूको समस्या समाधानका लागि एक छुट्टै आयोग गठन गरी पीडितले वर्षौंदेखि गुमाएको जग्गासमेत फिर्ता दिने आश्वासनसमेत दिनुभयो । उहाँले वर्तमान सरकारले नागरिकका हितमा मात्रै काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा शुक्लाफाँटा आरक्षपीडितहरूले आफू आरक्षबाट वर्षौंदेखि पीडित भएको र आफूले लगाएको बालीनाली पनि निकुञ्जबाट आउने जनावरहरूले खाने गरेका कारण झनै पीडित भएको भन्दै समाधानका लागि मन्त्री आलेलाई ज्ञापनपत्रसमेत पेश गरेका थिए । शुक्लाफाँटा निकुञ्जका आरक्षपीडितको विसं २०५८ देखि अहिलेसम्म पनि उचित व्यवस्थापन हुन नसकेको पीडितहरूको गुनासो छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवद्र्धन गर्ने उद्देश्यले विसं २०७३ देखि आयोजना हुँदै आएको महोत्सव ‘पर्यटकीय सम्भावनाहरूको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने नाराका साथ आज आइतबारदेखि शुरु भएको हो । भीमदत्त नगरपालिकाको आयोजनामा सञ्चालन भएको सो महोत्सव यही फागुन १५ गतेसम्म सञ्चालन हुने छ ।
शुक्लाफाँटा राष्ट्रिय महोत्सवका माध्यमबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका संरक्षित वन्यजन्तु, विशाल घाँसेमैदान, तालतलैया र दुर्लभ वनस्पतिका बारेमा सहभागीलाई जानकारी पनि गराइने लक्ष्य लिइएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो । क्षेत्रफलका हिसाबले यो निकुञ्ज सानो भए पनि ५४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको विशाल घाँसेमैदान र विश्वमै दुर्लभ बाह्रसिङ्गाको सबैभन्दा ठूलो बासस्थान मानिन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३०५ वर्गकिलोमिटरको क्षेत्रफलमा फैलिएको छ ।