काठमाडौं । अदालतको अवहेलना सम्बन्धी मुद्दामा पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर आज लिखित जवाफ बुझाउनुभएको छ ।
लिखित जवाफसहित उपस्थित हुने आदेश अनुसार दुई साता पुग्दा पनि म्याद तामेल नभएपछि चार जना पूर्व प्रधानन्यायाधीशहरु आज आफैं म्याद बुझ्न सर्वोच्च अदालत पुग्नुभएको हो ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गर्नुभएपछि चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो । त्यसमा प्रारम्भिक सुनुवाइ गर्दै माघ १५ गते न्यायाधीश मनोज शर्माको इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
चारमध्ये शर्माले छुट्टै र बाँकी तीन पूर्वप्रधानन्यायाधीशले संयुक्त रूपमा लिखित जवाफ पेस गर्नु भएको हो ।
पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध अधिवक्ताहरु धनजित बस्नेत र लोचन भट्टराईले अवहेलना मुद्दा दायर गर्नु भएको थियो ।
पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि सोसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा विचाराधीन र बहसकै क्रममा रहेको बेला त्यसलाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै चार पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध मुद्दा परेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर भएको थियो ।