बागलुङ । भूकम्पले क्षति पुर्याएको बागलुङ नगरपालिका–११ रायडाँडास्थित शान्ति बौद्ध विहार गुम्बाको पुनःनिर्माणका लागि शिलान्यास गरिएको छ ।
विसं २०७२ को भूकम्पले क्षति पुर्याएको सो बौद्ध गुम्बाको पाँच वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गर्न एक महीना अघिबाट शुरु गरेको थियो । जग्गा सम्माउने कार्य सम्पन्न भइसकेपछि बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले शिलान्यास गर्नुभएको थियो ।
उहाँले बागलुङमा बुद्धमार्गीको प्रमुख गन्तव्य बनाउने उद्देश्यका साथ गुम्बा निर्माण थालिएको बताउनुभयो । रायडाँडाको हलहलेस्थित रहेको गुम्बाको पुनःनिर्माण प्राधिकरण र शान्ति विहार बौद्ध गुम्बाको साझेदारीमा पुनःनिर्माण शुरु गरिएको छ ।
विसं २०६२ मा स्थापना भएको सो गुम्बा २०७० सालमा विधिवत् दर्ता भएर सञ्चालनमा आए पनि सोही वर्षको भूकम्पले क्षति पुर्याएका कारण पुनःनिर्माण गर्नु परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङका प्रमुख रेणुका पाण्डेले जानकारी दिनुभयो ।
पाण्डेका अनुसार रु ६१ लाखको लागतमा ८०० वर्गमिटर गुम्बा पुनःनिर्माण थालिएको हो । रु ६१ लाखमध्ये प्राधिकरणले रु ४० लाख र रु २१ लाख स्थानीय तह तथा श्रमदानबाट जुटाएर निर्माण गरिने बताइएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र स्थानीय जनश्रमदानमा पुरानो गुम्बा भत्काएर भूकम्प प्रतिरोधी गुम्बा निर्माण थालिएको शान्ति बौद्ध विहार गुम्बा राडयाडाँडा निर्माण समितका अध्यक्ष रणबहादुर थापाले जानकारी दिनुभयो । यही असार १० गतेसम्म सक्ने गरी भूकम्प प्रतिरोधी गुम्बा निर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता भइसकेको छ ।