काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडी बजारमा आज बिहानैदेखि दुई पार्टीका कार्यकर्ताबीच झड्प भएपछि नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड हवाइ फायर गरेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुवै पार्टीका कार्यकर्ताबीच सोमबार बेलुकी झड्प भएको थियो । सोमबार सहमति गरे पनि मंगलबार बिहानैदेखि पुनः झडप सुरु भएपछि प्रहरीले केही सेल अश्रु ग्यास र १७ राउन्ड हवाइ फायर गरेको छ ।
झडप स्थल प्रहरीको नियन्त्रणमा रहेको र दुवै समूहलाई वार्ता गराउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालयको टोली र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बताइएको छ ।
झडपमा ९ नम्बर वडाका वाडाध्यक्ष तारकबहादुर शाही र ३ प्रहरी गरि ४ जना घाइते भएको बताइएको छ ।