काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पुष्पकमल दाहाल प्रचण्डले ऐतिहासिक अवसर गुमाएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विवादको सहज अवतरणका लागि प्रचण्ड–नेपालसामू तीन प्रस्ताव राखेपनि उनीहरु सहमत नहुनु अर्थपूर्ण रहेको बताएका छन् ।
बुधबार साँझ काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री मानन्धरले प्रधानमन्त्री एवं अध्यक्ष ओलीले चैतमा हुने महाधिवेशनबाट अध्यक्ष बन्न र आगामी चुनावमा नेकपाका तर्फबाट भावी प्रधानमन्त्रीका रुपमा घोषणा गरेरै जनताका विचमा जाने प्रस्ताव अस्वीकार गरेर प्रचण्डले अवसर गुमाएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले नयाँ पुस्तालाई पार्टी नेतृत्वमा ल्याउने गरी काम गर्न अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाललाई प्रस्ताव गरेको भए पनि उनीहरु सहमत नहुनुको कारणबारे नेता, कार्यकर्ता र जनता सचेत हुनुपर्ने तर्क पनि गरेका छन् ।
राज्यमन्त्री मानन्धरले ताजा जनादेशका लागि जनतामा जाने निर्णयमा सहमत भएर आउन प्रचण्ड–नेपाल समूहलाई आग्रह गरेका छन् ।
राज्यमन्त्री मानन्धरले प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर काम गर्न नदिएको कारण जनताको समृद्धिको सपना साकार पार्न पुन निर्वाचनमा जानुपरेको स्पष्ट गरेका छन् ।
अहिले सडकतिर हिड्ने नेताहरु कुनै दिन पश्चातापसहित मुलधारमा फर्कने बताउँदै राज्यमन्त्री मानन्धरले अरुको उक्साहटमा प्रचण्डले नेपालको राजनीतिक इतिहासै ठुलो अवसर गुमाएको बताएका छन् ।
कार्यक्रममा ४ घण्टा ५ मिनेट २० सेकेण्ड लगातार गीत गाएर गिनिज बुक अफ वर्ल्ड रेकड्समा नाम लेखाएका राज्यमन्त्री मानन्धरलाई सम्मान गरिएको थियो । त्यस्तै बालाजु यातायात र तारकेश्वर यातायात प्रालीले मन्त्री मानन्धरलाई सम्मान गरेको बताइएको छ ।